Logo

९४ वर्षका पूर्वमुख्यमन्त्री बादल पञ्जाबमा पराजित भएपछि…



एजेन्सी, २७ फागुन । भारतको पञ्जाब राज्यमा अरविन्द केजरिवाल नेतृत्वको आम आदमी पार्टीले प्रचण्ड बहुमत ल्याएको चर्चा चलिनै रहेको छ । तर, उक्त चुनावमा बहालवाला मुख्यमन्त्री देखि पूर्वमुख्यमन्त्रीहरुसम्म पराजित भएका छन् ।

पूर्व उपमुख्यमन्त्री, बहालवाला मन्त्री देखि लोकप्रीय अनुहारहरु यसपालीको चुनावमा बडारिएका छन् । आपले झाडुले हस्तीहरुलाई नै बडारेर भारतको राजनीतिलाई तरंगित बनाइदिएको छ ।

पञ्जाबको चुनावमा वर्तमान मुख्यमन्त्री चरणजीन सिंह चेन्नी पराजित भएका छन् । कँग्रेस आईका नेता चेन्नी दुईवटा सिटबाट चुनाव लडेकोमा दुवैमा पराजित भए । उनको पराजयलाई चासोका साथ हेरिएको छ ।

पञ्जाबका पूर्वमुख्यमन्त्री क्याप्टेन अमरिनदर सिंह पनि पराजित भएका छन् । पञ्जाब लोक कँग्रेसका नेता उनी आपका उम्मेदवार अजित पाल सिंहबाट पराजित भए । अमरिनदर पटियालाका तत्कालीन महाराजाका छोरा हुन् । उनी विगतमा कँग्रेस आईमा थिए । पछि उक्त पार्टी छाडेका थ्एि ।

पञ्जाबका पूर्वमुख्यमन्त्री प्रकाश सिंह बादल पनि पराजित भएका छन् । ९४ वर्षीय बादल सिरोमनी अकाली दलका नेता हुन् । उनी ५ पटक पञ्जाबको मुख्यमन्त्री भइसकेका छन् । गाउँको सरपञ्जबाट राजनीतिक सुरु गरेका बादल सन् १९७० मा मुख्यमन्त्री हुँदा सबैभन्दा कम उमेरमा भएका थिए ।

पूर्व उपमुख्यमन्त्री सुकविर सिंह बादल पनि पराजित भएका छन् । ५९ वर्षीय सुकविर अकाली दलका अध्यक्ष हुन् । सुकबिरका पिता प्रकाश सिंह बादल हुन् ।

कँग्रेस आईका नेता समेत रहेका पूर्व क्रिकेटर नवजोन सिंह सिन्धु पनि पराजित भएका छन् । उनी अमृतसर पूर्वको सिटबाट आपका जीवन ज्योत कौरबाट पराजित भए ।

यसरी आपले पञ्जाबको चुनावमा सुनामी ल्याउँदा धेरै हस्तीहरु पराजित भएका छन् । जसमा बहालवाला देखि पटक पटक मुख्यमन्त्री भइसकेका भेट्रानहरु पनि परेका छन् ।



प्रतिक्रिया दिनुहोस्