Logo

महिलाको चक्कुले घाँटी रेटी हत्या गर्ने २ जना पक्राउ



भक्तपुर, २७ फागुन । महिलाको हत्यामा संलग्न २ जना पक्राउ परेका छन् । नागपोखरी बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ नवलडाँडा स्थायी वतन भएकी २८ वर्षीया जेनिशा नगरकोटीको धारिलो हतियार चक्कुले घाँटी रेटी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका–१० थलाछे बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–२ भकुण्डेवेशी घर भएका ४४ वर्षीय रमेश भन्ने कुमार लामा र भक्तपुर नगरपालिका–८ महेश्वरी बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ चौवास घर भएका ३८ वर्षीय नवराज रिजाल रहेका छन् ।

चाँगुनारायण नगरपालिका–७ बागरेस्थित तरकारी खेती बारीमा रहेको टहराभित्र घाँटी रेटी हत्या भएको अवस्थामा गत सोमबार जेनिशा नगरकोटीको शव फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीहरूमाथि भक्तपुर जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा ७ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot