Logo

अन्नपूर्ण पदमार्गमा बढे पर्यटक



लमजुङ, फागुन २९। चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक बढ्न थालेका छन् । यो पदमार्गमा गत वर्ष मार्च महिनामा १३७ पर्यटक भित्रिएकामा यस वर्ष मार्च महिनाको एक सातामै १३४ जना पर्यटक भित्रिएका छन् । गत सोमबार ३५ जना पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङको धारापानी चेकपोस्टले जनाएको छ ।

चेकपोस्टका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार फागुन १७ गते आठ जना पर्यटक भित्रिएका थिए । फागुन १९ र २० गते २०र२० जना, फागुन २१ गते २५ जना पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा आएका थिए । जनवरीदेखि हालसम्म जर्मनीका ७० जना, फ्रान्सका ५६ जना, बेलायतको ४८ जना पर्यटकलगायत गरी ३४४ जना पर्यटक भित्रिएका गुरुङले बताए ।

गत वर्षको जनवरीमा दुई जना विदेशी पर्यटक आएकामा यस वर्ष जनवरीमा मात्रै ४१ जना पर्यटक यो पदमार्गमा आए । यस वर्ष फेब्रुअरीमा १६९ जना पर्यटक भित्रिएका छन् जब कि गत वर्ष फेब्रुअरीमा २५ जना भित्रिएका थिए । गत वर्षको जनवरी र फेबु्रअरी ताका कोरोना महामारी बढिरहेको थियो ।

उनका अनुसार सन् २०२० को जनवरीमा भने २५५ जना पर्यटक भित्रिएका थिए । गत वर्षको जनवरी, फेब्रुअरी र मार्चको तुलनामा यस वर्षको सोही अवधिमा पर्यटक आगमन बढेको उनले जनाए। सन् २०२० मा सात महिना पर्यटक आगमन शून्य रहेको थियो । अन्य पाँच महिनामा मात्रै एक हजार ९७६ पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा भित्रिएका थिए ।

सन् २०२१ मा दुुई हजार ३७३ पर्यटक पदमार्गमा भित्रिएका धारापानी चेकपोस्टले जनाएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot