Logo

एमाले महाभियोग प्रस्तावको पक्ष वा विपक्षमा खुलेको छैनः सांसद कृष्णभक्त पोखरेल



काठमाडौं, २९ फागुन । नेकपा एमालेका नेता एवं सांसद कृष्णभक्त पोखरेलले आफ्नो पार्टी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्तावको पक्ष वा विपक्षमा कुनै दृष्टिकोण नबनाएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद पोखरेलले भने, “अमुक मुद्दामा सेटिङ र न्यायालय कब्जा गर्ने डिजाइन अनुसार महाभियोग आएको हो । पहिले पनि नवराज सिलवालको मुद्दा प्रभावित गर्न प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग लगाइएको थियो । हामीले तथ्यका आधारमा निष्कर्ष निकाल्ने हो । अहिले नै महाभियोगको पक्षमा ताली बजाएर जाने होइन ।”
एमाले संविधानवाद विरुद्ध नभएकाले महाभियोग सिफारिस समितिमा बसेको उनले औंल्याए । सांसद पोखरेलले भने, “तथ्य उजागर गर्ने संवैधानिक प्रबन्धलाई अस्वीकार गर्न सकिँदैन । यो संविधानवादलाई चुनौती दिने कुरा पनि होइन । सभामुख उपर हाम्रो विरोध जारी छ । तर समिति प्रणालीमा अवरोध गरेका छैनौं । महाभियोग लाग्ने वा नलाग्ने बुझ्छौं । आज महाभियोगबारे प्रस्तावकले बोल्छन् । हाम्रो समितिमा विधिवत् रुपमा आउँछ । तर समितिको सभापति चयन भएको छैन । बैठक पनि बसेको छैन ।”
संसद्मा सभामुखले गरेको अन्याय टुलुटुलु हेरेर एमाले नबस्ने पनि उनले स्पष्ट पारे । उनले भने, “सभामुखले सरिता गिरी, रामबहादुर थापाको कारबाहीमा २४ घन्टामै कारबाहीको सूचना टाँस्ने, एमालेले कारबाही गरेका १४ सांसदमाथि किन सूचना नटाँस्ने ? जहाँ कानुन छ, त्यहाँले कानुनले काम गर्ने हो, कानुन नभएको ठाउँमा विगतको अभ्यास गर्ने हो । यसमा सभामुखको अर्घेल्याइँ हामी स्वीकार्न सक्दैनौं ।”
युट्युबरको नियमन ठीक भए पनि नियन्त्रण स्वीकार्य नभएको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot