Logo

विवादमा तानिँदै नेपाली गीत



काठमाडौं, फागुन ३० । आफ्नो नयाँ गीत ‘पीर’का कारण गायक प्रकाश सपुत यतिबेला विवादमा छन् । माआवादी ‘जनयुद्ध’का महिला लडाकु हाल वेश्यावृत्तिमा छन् भन्दै यो गीतको भिडियोमा उनीहरूले वेश्यावृत्ति गरेको दृश्य देखाएपछि उनी विवादमा तानिएका हुन् ।

यसअघि यिनै गायक ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ गीत अरूको चोरी गरेर बनाएको भन्दै विवादमा परेका थिए । देशको गणतन्त्रका लागि जनयुद्धमा लडेका नेपाली नारी योद्धाको अस्मिताको खिल्ली उडाएको भन्दै उनी अहिले फेरि विवादमा परेका हुन् ।

आफ्नै च्यानलबाट नयाँ गीत पीर प्रकाश सपुतले शनिबार रिलिज गरेका हुन् । यो गीतलाई आइतबार बेलुकासम्म २५ लाखपटक युट्युबमा हेरिएको छ । १६ मिनेटको गीतमा जनयुद्धमा लागेका महिलाहरूको अपमान गरेको भन्दै अहिले नेकपा माओवादी केन्द्रका नेताहरूले विरोध गरेका छन् । सोही पार्टीको विद्यार्थी संस्था अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सामाजिक सञ्जालमा सो गीतको भिडियोको पूरा विरोध गरेकी छन् ।

उनले यो गीत युट्युबबाट तत्कालै हटाउन पनि चेतावनी दिएकी छन् । हिजोका दिनमा जातीय छुवाछुत सामाजिक विभेद हटाउन जनयुद्धमा होमिएका महिलाहरूको सम्मानमा आँच पुग्नेगरी भिडियोमा प्रस्तुत गरिएको दृश्यप्रति सिंहले घोर आपत्ति जनाएकी छन् ।

उनले भिडियो तत्काल हटाएर माफी माग्नसमेत सपुतलाई निर्देशन दिएकी छन् । पञ्चा सिंहले यो गीतको भिडियोको विरोध जनाएपछि माओवादीसँग सम्बन्धित विभिन्न नेताहरूले पनि गीतको दृश्य हटाउन सपुतलाई दबाब दिएका छन् । तर, यो विषयमा सपुतले आइतबारसम्म केही बोलेका छैनन् ।

यसअघि पनि गायक सपुतलाई शम्भु राईको आउ नाचौं साथी हो गीत चोरेर गलबन्दी च्यातियो तिम्ले तानेर‘ बनाएको आरोप लागेको थियो । सो आरोपमा सपुतले माफी माग्नुपरेको थियो । त्यो गीतमा सपुत र राई दुवैको नाम संगीतकारमा राखिने सहमति भएको थियो ।

प्रकाश सपुत मात्र होइन, गायन तथा भिडियोका कारण विभिन्न कलाकार विवादमा आउने गरेका छन् । यस्तै, गत वर्ष भदौमा मंगोल हव भन्ने समूहले आफ्नो अफिसियल च्यानलबाट नेपालको विरोध गर्दै नेपालको झन्डा जलाएको एउटा गीतको भिडियो सार्वजनिक गरेको थियो । जसमा बाहुन क्षत्री समुदायलाई गाली गरिएको थियो । सो गीतको सर्वत्र विरोध भयो । सो गीत विवादमा तानिएपछि मंगोल ग्याल्जे लि, एटिएमसहित सो समूहका विभिन्न व्यक्तिलाई प्रहरी पक्राउ गरेर हिरासतमा राख्यो । मंगोल हव समूहका कलाकारमध्ये केही जेलमा छन् भने केहीले राज्यविरुद्धको मुद्दा खेपिरहनुपरेको छ ।

यता भिटेन पनि गीतमार्फत समाजमा अश्लीलता फैलाएको भन्दै बेलाबेलामा विवादमा पर्ने गरेका छन् । गीत र भिडियोबाट बढी विवादमा आउने पछिल्लो कलाकार दुर्गेश थापा पनि हुन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot