Logo

स्थानीय तहमा केन्द्रले गठबन्धनको निर्देशन दिन सक्दैनः नैनसिंह महर



काठमाडौं, १ चैत । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले स्थानीय तहको आवश्यकताबाहेक केन्द्रको निर्देशनमा गठबन्धन हुन नसक्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महरले भने, “गठबन्धन कुनै सिद्धान्त होइन, आवश्यकता हो । स्थानीय आवश्यकता महसुस गरेर गठबन्धनबिना जित्नै सकिँदैन भन्ने लाग्यो भने सहकार्य हुन सक्छ । तर काठमाडौंले गठबन्धनको एकल निर्णय गर्न सक्दैन ।”
प्रधानमन्त्री शेरबहादुर देउवाले ‘भीम रावलको दिमाग खुस्किएको’ भन्नुभएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा महरले भने, “आफू सरकारमा मन्त्री हुँदा बोल्न नसक्ने, पार्टी सरकारमा भएको बेला पनि नबोल्ने अनि व्यक्तिगत पपुलारिटीका लागि अतिरञ्जित किसिमले जनतामा भ्रम छर्ने प्रवृृत्तिका विरुद्ध प्रधानमन्त्रीले बोल्नुभएको हो । अमेरिका नेपालको पुरानो मित्र हो, उसले नेपालको अहित सोच्न पनि सक्दैन ।”
आगामी निर्वाचनमा नेपाली कांग्रेसको बहुमतको सरकार बनेमा विकास, सुशासन र समृद्धि सम्भव हुने पनि उनले बताए । उनले भने, “अहिले नेपाली कांग्रेसको एकल सरकार होइन । हामीले चाहेर पनि सोचेका काम गर्न सकेका छैनौं । कांग्रेसको नेतृत्वमा सरकार बनेपछि ७० प्रतिशत खोप जनताले लगाइसकेका छन् । कम्बल ओढेर घिउ खाने प्रवृत्ति कांग्रेसमा छैन । कांग्रेसले विगतमा गरेका काम जनतासमक्ष लगेर बहुमत ल्याउने प्रयत्न गर्छौं ।”



प्रतिक्रिया दिनुहोस्