Logo

आमूल परिवर्तन मसिहा पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनबाट भरत गिरीको नेतृत्वमा ७७ केन्द्रीय कार्यसमिति गठन



काठमाडौं, १ चैत्र । आमूल परिवर्तन मसिहा पार्टी नेपालले प्रथम राष्ट्रिय महाधिवेसन सम्पन्न गरेको छ । गत फागुन २५ गते सम्पन्न भएको महाधिवेशनले भरत गिरीको नेतृत्वमा ७७ केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

पार्टीका केन्द्रीय अध्यक्ष भरत गिरीले गत फागुन २५ गते सम्पन्न प्रथम राष्ट्रिय महाधिवेसनले मार्ग निर्देशक सिद्धान्तमा आध्यात्मिक भौतिक समुन्नतवादलाई अगाडि बढाएको बताए । समाजमा धार्मिक स्वतन्त्रता सहित राज्य धर्मनिरपेक्षता कायम गर्ने, बहुदलिय प्रतिस्पर्धा सहितको गणतान्त्रिक दुई सदनको व्यवस्था गर्ने पार्टीको धारणा रहेको पनि उनले स्पष्ट पारे । उनले भने,‘संघियता खारेजको लागि हाम्रो पार्टीले क्रान्तिकारी कदम चाल्नेछ । यो व्यवस्थाबाट सबै आत्तिसके ।’

उनले राज्यको तर्फबाट कुनै पनि जाति, भाषी, भुगोललाई अवसर र दण्डमा पक्षपात गर्न नहुने तर्क गरे । ‘देशमा रोजगार र विकासको स्थिति, सबैखाले प्राकृतिक स्रोतको उत्खनन, प्रशोधन गरी देशलाई औद्योगिक क्रान्तिको लहर चलाउने नितिको अख्तियार गर्ने छ।’ अध्यक्ष गिरीले भने, स्वास्थ्य उपचार निशुल्क गरि ६५ वर्ष भन्दा माथिका नागरिकहरुलाई राज्यले नै सित्तैमा पालनपोषण गर्ने निति लागु गर्नुपर्छ भन्ने हामी स्वास्थ्यमा निति ल्याउन चाहान्छौ ।’ शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्नेमा उनले जोड दिए ।

उनले आफ्नो पार्टीले झुट बोल्नेलाई दण्डनिय हुने निति लागु गर्ने पनि बताए । उनले भने,‘झुटो मुद्दा लगाएर दुख दिने परिपार्टीको अन्त्य गर्न गर्नुपर्छ । लगाइएको आरोप पृष्टि नभएमा हामी आरोप लगाउने व्यक्ति नै दण्डित हुनुपर्ने निति लागु गर्न चाहान्छौ ।’ अभिनेता पल शाहमाथि लगाइएको आरोप झुट प्रमाणित भएमा आरोप लगाउने व्यक्तिनै दण्डित हुनपर्ने उनले विचार व्यक्त गरे । अध्यक्ष गिरीले देशको रक्षाको लागि आधुनिक हतियारको भण्डारण तथा उत्पादन नेपालमै गर्ने आफ्नो पार्टीको निति भएको स्पष्ट पारे । उनले नेपालले कृषिमा आधुनिकिकरण गर्ने निति जसरी पनि लागु गर्ने आफ्नो पार्टीको उद्देश्य रहेको सुनाए ।

प्रमुख दल र नेताहरु नेपाली जनताको जनतामुखी चिन्तनमा नभई आफु केन्द्रीत भएको पनि उनले आरोप लगाए । उनले अहिले नेतृत्वकर्ताहरुको कारणले नै व्यवस्था नै धरापमा परेको धारणा राखे । नेपाल र भारत अहिले पनि १८औं शताब्दीमा रहेको उल्लेख गर्दै अध्यक्ष गिरीले मानवलाई पशुभन्दा उन्नत जात हो भन्ने चेतना अझैपनि विकास नभएको भन्दै गुनासो पोखे । उनले भने,‘नेपालमा मानवलाई पशु भन्दा तल्लोस्तरमा राखेको सुन्दा आज पनि विश्व समुदायमा नेपाल लज्जित भएको छ ।’



प्रतिक्रिया दिनुहोस्