Logo

महानगरपालिका र उपमहानगरपालिकामा तालमेलको तयारी



काठमाडौं, चैत २ । सत्ता गठबन्धनमा आबद्ध दलहरू आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा तालमेल गरेर अघि बढ्ने गृहकार्य शुरू भएको छ ।

चुनावमा गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रने कि एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भन्ने सम्बन्धमा साझा धारणा बनाउन नसकेका सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकामा भने तालमेल गरेर प्रतिस्पर्धा गर्ने गृहकार्य अघि बढाएको हो ।

स्थानीय तहको निर्वाचनमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले कम्युनिस्ट पार्टीहरू विभाजित भएकाले एक्लै चुनाव जित्न नसकिने दाबी गरिरहँदा सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्र र जनता समाजवादी भने तालमेल गरेर जानुपर्नेमा जोड दिइरहेका छन् ।

गठबन्धनको शीर्ष तहमा महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेल गरेर जाने र नगरपालिका र गाउँपालिकामा भने त्यहाँको वस्तु अवस्था हेरेर निर्णय गर्न दिने विषयमा छलफल भइरहेको बताइएको छ ।

यसैबीच, कांग्रेसले पार्टीको वस्तुस्थितिको बारेमा अध्ययन गरेर रिपोर्ट पेस गर्ने गरी फागुन २९ गतेबाट एक महिने चुनावी अभियान शुरू गरेको छ । केन्द्रबाट खटाएका ७७ केन्द्रीय प्रतिनिधिले जिल्लाको रिपोर्ट प्रस्तुत गरेपछि त्यसको आधारमा गठबन्धनमा अन्य दलसँग चुनावी तालमेल गर्नेरनगर्ने विषयमा कांग्रेसले निर्णय लिने भएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्