Logo

कमल थापालाई यहाँसम्म ल्याइदिएकै राजसंस्थाले होः धवलशमशेर राणा



काठमाडौं, ४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले आफू अब मेयरको उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता राणाले भने, “म दुईचोटि मेयर भइसकें । १० वर्ष चलाइसकें । म अब बाँके क्षेत्र नं २ मा संघीय संसद्को सांसदको उम्मेदवार हुने हो । राजासहितको हिन्दु राष्ट्र बनाउने हो । म के मानेमा खुसी छु भने मेरो काममा पार्टी, जनता, बोर्ड, कर्मचारी कसैको विरोध र अवरोध भएन । एउटा पनि तालाबन्दी र होहल्ला भएन । कसैले नोट अफ डिसेन्ट लेखेन ।”
तपाईंको पार्टी फुटिसक्यो, राजासहितको हिन्दु राष्ट्र कसरी बनाउनुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा मेयर राणाले भने, “एक जना नेता निक्लेर राप्रपालाई केही फरक पर्दैन । राप्रपा नेपालमा कमल थापाको निकट भनिएका मानिस समेत गएका छैनन् । उहाँले एउटा महाधिवेशनमा हारेपछि राजसंस्था छाड्नुभएको सुनिएको छ । कमल थापालाई यहाँसम्म ल्याइदिएको राजसंस्थाले होइन ?हाम्रो पार्टीमा कति जनलहर छ भन्ने अस्ति नेपालगन्जमा भएको आमसभाले पुष्टि गरिसक्यो । यस्तो सभा विगत ५ वर्षमा पनि भएको थिएन ।”
राप्रपा महामन्त्री राणाले आफ्नो पार्टीले वर्तमान संविधान पूर्ण रुपमा अस्वीकार गरेको पनि स्पष्ट पारे । उनले भने, “संविधानमा परिवर्तन गर्न सकिन्छ । सके जनमतबाट परिवर्तन गरौंला, नसके सडकबाट गरौंला । हाम्रो त एजेन्डा नै राजासहितको हिन्दु राष्ट्र हो ।”
राप्रपा अरु कसैसँग गठबन्धन नगरी एक्लै लड्न पनि सक्षम रहेको दाबी राणाले गरे । उनले थपे, “प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले तीनै तहको चुनावमा गठबन्धन कायमै रहन्छ भनेपछि हाम्रो गठबन्धन बाँकी रहेका पार्टीसँग हुनसक्छ, एमालेसँग पनि हुन सक्छ । अरुले गठबन्धन नगरे हामी पनि गर्दैनौं । गरे हामी पनि गर्छौं । राजनीतिमा सबै सम्भावनाको ढोका खुलै राख्नुपर्छ ।”
आफ्नो ५ वर्षे कार्यकालमा नेपालगन्जमा भ्रष्टाचार जिरो भएको पनि उनले उद्घोष गरे । राणाले भने, “नेपालगन्जमा भ्रष्टाचार जिरो छ । यो भ्रष्टाचारविहीन सहर भएको छ । लाग्ने शुल्कबाहेक बढी कसैले लियो भन्न न मिडियामा आयो, न मलाई भन्न आयो । भ्रष्टाचारको कुनै काण्ड भएनन् । समग्रमा त्यस्तो सुनिएको छैन । नत्र भ्रष्टाचारको लुक्दैन । केही उजुरी परे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ठहर गर्न सकेन । ठेक्का नपाएका, आफ्नो घरको बाटो राम्रो भएन भनेर कसैले उजुरी हालेका हुन सक्छन् ।”
कार्यक्रममा उनले नेपालगन्ज उपमहानगरपालिकामा भएका विकासका फेहरिस्त पनि दिए । उनले भने, “मेरो कार्यकालमा गर्नुपर्ने जति सबै भौतिक पूर्वाधार निर्माण भए । सय किलोमिटर रोड बनायौं । चारतिरबाट बाटो बनेको छ । सबै टोलका सडक पिच छन् । ४० वटा हाई मास्ट बत्ती राखेर उज्यालो बनाएका छौं । सरसफाई राम्रो छ । ४०, ५० वर्षका लागि ल्यान्डफिल साइट बनाएका छन् । बसपार्क र एयरपोर्ट पनि राम्ररी चलेका छन् । २५ र १२ बिघाका ठूलाठूला पार्क बनाएका छौं । ५ हजार विरुवा लगाएर हुर्किसकेको अवस्था छ । पर्दा र घुंघटमा रमाउने मुस्लिम र मधेसी समाजमा कन्या स्कुल र कलेज बनाएका छौं । यसलाई नेपालगन्जमा आमूल परिवर्तन भन्ने कि नभन्ने ? यसबारे तपाईंले जनतालाई सोध्नुस् न ।”
उनले चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणमा मानसरोवर, तातोपानी, रसुवागढी नाका खोल्ने सम्बन्धमा कुरा गर्नुपर्ने औंल्याए । उनले भने, “हामी उहाँको भ्रमणलाई स्वागत गर्छौं । हामीले नाका खोल्ने विषयमा कुरा उठाउनुपर्छ र चीनको सकारात्मक जवाफ नै आउला । यो भ्रमणबाट दुई देशबीचको सम्बन्ध अझ समधुर हुने विश्वास लिएको छु ।”

 



प्रतिक्रिया दिनुहोस्

Screenshot