आन्तरिक उडानमा फड्को मार्दै पोखरा


पोखरा, चैत ६ । पोखरा विमानस्थलबाट अहिले दिनमा ३० को हाराहारीमा ठुला उडान भइरहेका छन्। त्यसबाहेक हेलिकोप्टर र अल्ट्रालाइटको समेत त्यत्तिकै संख्यामा उडान हुन्छ। ठुलासाना गरी पोखरा विमानस्थलले अहिले दिनमा एक सय बढी उडान व्यवस्थापन गरिरहेको छ।

पोखराबाट यतिबेला भइरहेका उडानमध्ये काठमाडौंसँगको हिस्सा बढी छ। काठमाडौसँग पोखराको उडान संख्या अहिले दिनमा डेढ दर्जनभन्दा बढी छ। तीमध्ये अधिकांश उडान ठुला आकारका जहाज ९७२ सिट क्षमताका एटिआर ७२–५००० बाट भइरहेका छन्। यती र बुद्ध एयरलाइन्ससँग ती जहाज छन्। त्यसबाहेक पोखरालाई अन्य ठुला सहरसँग हवाई उडानले जोड्दै जाँदा पोखराको हवाई सञ्जालले गति लिएको छ।

निजी हवाई कम्पनी अझै नयाँ गन्तव्यसँग पोखरालाई जोड्ने योजनामा छन्। पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार अहिले पोखरा–काठमाडौंको उडान संख्या निकै नै बढेको छ। कोरोना सुरु हुनुअघि सानो आकारका जहाजबाट उडान हुने गरेकोमा अहिले हुने उडानका सबैजसो जहाज ठुला आकारका छन्।

अहिले बुद्ध एयरले मात्र पोखरा–काठमाडौं रुटमा दिनमा दर्जन उडान गरिरहेको छ। ती सबै उडान ठुला आकारका जहाजबाट हुने गरेको छ। त्यस्तै पोखरा–काठमाडौं रुटमै उड्ने यती एयरलाइन्सका जहाज पनि ठुला छन्। श्री एयरलाइन्सले पनि अहिले यो रुटमा उडान गरिरहेको छ। गुण एयरलाइन्सले पनि दैनिक उडान गरिरहेको छ।

‘अहिले सबै गरेर दिनमा १४ सय यात्रुुले एकतर्फी यात्रा गरेका छन्। कोरोनाले पर्यटन क्षेत्र थलिएको अवस्थामा पनि हवाई उडानमा भने व्यापक सुधार देखिएको छ,’ सुवेदी भन्छन्, ‘कोरोना सुरु हुनुअघि विदेशी पर्यटक हुँदाको अवस्थामा हुने उडानभन्दा अहिले यात्रुको संख्या धेरै छ। अहिले विदेशी एकाध मात्र छन्, सबैजसो आन्तरिक यात्रु छन्। कोरोना सुरु हुनुअघि आन्तरिक यात्रु कम थिए, विदेशीको बाहुल्य थियो। अहिले आन्तरिक यात्रुकै भरमा हवाई क्षेत्रले स्थान बढाएको छ।’

त्यसबाहेक पोखराले पछिल्लो केही समयमा हवाई सञ्जाल पनि व्यापक विस्तार गर्न सकेको छ। पोखराबाट नियमित हवाई उडान भइरहेका काठमाडौं र जोमसोम पुराना गन्तव्य हुन्। ती रुटमा लामो समयदेखि नियमित उडान भइरहेको छ। तर पछिल्लो समय भरतपुर, भैरहवा, नेपालगन्ज, धनगढी, जनकपुर र सिमरासम्म उडान भइरहेको छ।

पोखरा विमानस्थलले अहिले मुख्य सातवटा ठुला सहरसँग हवाई सञ्जालले आफूलाई जोडेको आजको नागरिक दैनिकमा खवर छ ।