Logo

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई ऋषि धमलाको प्रश्नः “जसपा छाडेर किन एमालेतिर जानुभयो ?”



काठमाडौं, ६ चैत । वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले आफूले पार्टीकै मानिसले दुःख दिन थालेपछि दुई पटक राजीनामा दिन खोजेको खुलासा गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मेयर सरावगीले भने, “पार्टीभित्रकै केही व्यक्तिले दुख दिन थालेपछि मैले दुई पटक राजीनामा गर्ने प्रयास गरेको थिएँ । जसपा अध्यक्ष उपेन्द्र यादवलाई जनकपुरमा भेटेर पनि भनिसकेको थिएँ । तर उहाँले पनि तिनलाई ठीक गर्न सक्नुभएन र मैले नेकपा एमालेलाई रोजेको हुँ ।”
मेयर सरावगीले आफूमाथि लागेका भ्रष्टाचारको आरोप मिथ्या भएको दाबी पनि गरे । उनले थपे, “विपक्षी दलहरुबाट आरोप त लाग्छ । तर त्यसलाई पुष्टि गर्न सक्नुपर्यो नि । भ्रष्टाचार भएको भए हामीलाई हेर्ने ६ वटा सरकारी निकाय छन् । तिनले पनि त कारबाही गर्नुपर्ने हो नि । भ्रष्टाचारजन्य लेनदेन चुपचाप भयो भने कसरी समाउने ? चाबुक चलाएर मात्र भ्रष्टाचार बन्द हुने होइन ।”
महानगरको विकासका लागि संघीय र प्रदेश दुवै सरकारले बजेट नदिएको आरोप पनि उनले लगाए । सरावगीले थपे, “मधेस आन्दोलनको मूलमन्त्र थियो विकास । हामीलाई केन्द्र र प्रदेशले पैसा दिन सक्थे । तर दिएनन् । साढे ३ वर्षसम्म संघीय सरकारको स्रोत जति पोखरा र भरतपुरतिर सोहोरिएर गयो । भरतपुरमा मात्र नियमितबाहेक ११ सय करोड बजेट गएको छ । विराटनगर र वीरगन्जलाई विभेद भयो । अनि महानगरको आन्तरिक स्रोतबाट मात्र कति विकास हुन्छ र ?”

तपाईंले जनअपेक्षा बमोजिम विकास गर्नु सक्नुभएन नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “रोम पनि एकै रातमा बनेको होइन । महानगरको विकास हामीले घरबाट ल्याएर गर्ने पनि होइन । महानगरभित्रको आन्तरिक साधन स्रोत र मानवीय स्रोत सीमित छ । संघ र प्रदेशले केही दिएनन् । महानगर बनाउँदा ग्रामीण भूभाग धेरै समेटियो । ग्रामीण वडाबाट सहरको पहुँचका सडक बनेका छन् । मुख्य कुरा बाहिरी सडकको स्वरुप फेरिन सकेन । मुआब्जाको माग गरी अदालतमा मुद्दा हालेकाले सडक विस्तार हुन सकेको छैन । मुद्दा बेलैमा मुद्दा छिनिएको भए सहज हुन्थ्यो । मेन रोडको स्वरुप नफेरिएकाले विकास नदेखिएको हो । अझ भन्ने हो भने, टीआरपी रोड संघीय सरकारको जिम्मेवारी हो । तर अधिकतम विकासको काम भएका छन् ।”
मेयर सरावगीले आफूले वाचा गरेका ८० प्रतिशत काम गरेको दाबी गरे । उनले भने, “सार्वजनिक सुनुवाई, मेयर—जनता सामनेसामने, नयाँ पुस्तासँग मेयर आदि कार्यक्रममार्फत मैले पारदर्शी रुपमा आफ्नो कुरा राखेको छु । विपक्षीले गाली गर्छन्, स्वाभाविकै हो । तर जनताको गुनासो आएको छैन । साँच्चै भन्ने हो भने गैर राजनीतिक मान्छे हुँदाहुँदै पनि मैले उपलब्ध साधन स्रोतभन्दा बढी काम गरेको छु । लगभग ८० प्रतिशत वाचा पूरा गरेको छु ।”
दुई वर्ष कोभिडले अलमलाएकाले २० प्रतिशत काम हुन नसकेको उनको भनाइ छ । मेयरले भने, “बीचको २ वर्ष कोभिडले अलमलायो । हामीले ३६ करोडमा महानगर ज्वाइन गरेका हौं । १२ करोड त कोभिडमै खर्च भयो । हामीले महानगरबासीलाई मात्र होइन, महोत्तरीसम्मका मानिसलाई कोभिडको उपचार गरेका छौं ।”
मेयरले फोहोर डुंगुर बोर्डरमा फाल्ने चलन अन्त्य गरेको दाबी पनि गरे । उनले भने, “ल्यान्डफिड साइट बनाएका छौं । नालालाई प्रशोधन गरी नदीमा फाल्ने व्यवस्था मिलाएका छौं । सडकमा १४ हजार एलईडी बत्तीको व्यवस्था गरेका छौं । शिक्षा र स्वास्थ्यका क्षेत्रमा धेरै राम्रो काम भएको छ । कुल बजेटको ४० प्रतिशत बजेट सामाजिक काममा खर्च भएको छ । मानवीय सूचकांकमा पनि वीरगन्जले राम्रो गरेको छ । विश्वास लाग्दैन भने ३२ वटा वडा घुमेर हेरेर हुन्छ ।”

तपाईंले वीरगन्जलाई प्रदेशको राजधानी त बनाउन सक्नुभएन नि भन्ने पत्रकार धमलाको प्रश्नमा मेयर सरावगीले भने, “हो, मैले २२ जिल्लाको राजधानी बनाउँछु भनेको हो । तर प्रदेश २ नै ८ जिल्लामा सीमित भयो । यो दुई तिहाई बहुमतबाट पारित गर्नुपर्ने थियो । हाम्रो प्रयास पुगेन । तर जनकपुर स्थायी राजधानी बन्छ भन्ने होइन । राजधानी अर्को ठाउँमा सारिएका उदाहरण पनि छन् । वीरगन्जलाई राजधानी बनाउने कुराको औचित्य सकिएको छैन ।”
फरक प्रसंगमा उनले बीआरआईको ऋणबारे सोच्नुपर्ने पनि बताए । मेयर सरावगीले भने, “बीआरआई माथिको म्याटर हो । यसमा स्थानीय तहको पहुँच हुँदैन । तर ऋण लिँदा सचेत हुनुपर्छ । अनुदानमा त समस्या भएन । ऋणमा सोच्नुपर्छ । देशलाई ऋणको भार नहुने गरी काम गर्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्