Logo

गणतन्त्र स्तम्भ निर्माणमा अझै अन्योल



काठमाडौं, चैत ७ । गणतन्त्र घोषणा भएको १३ वर्ष बित्न लाग्दा पनि गणतन्त्र स्तम्भको निर्माण भने अझै अन्योलमा छ । २०६५ जेठ १५ गते नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएकोमा सरकारले गणतन्त्रको प्रतीकस्वरूप स्तम्भ निर्माण गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्बाट २०६६, २०६७ र २०६९ मा गरी तीन पटक निर्णय गरेर दुई जना प्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईले शिलान्यास गरेको स्तम्भ सरकारको प्राथमिकतामा परेको देखिन्छ तर निर्माण कहिले हुन्छ भन्नेमा चाहिँ स्तम्भ निर्माणको जिम्मेवारी पाएका सहरी विकास मन्त्रालयका अधिकारी नै अनभिज्ञ छन् । यसको अर्थ प्राथमिकता खस्केको भन्ने पनि हो ।

पहिलो पटक २०६६ जेठ ११ गतेको मन्त्रिपरिषद् बैठकले गणतन्त्र स्तम्भ स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री नेपालले राजधानीको रत्नपार्कमा सो स्तम्भ निर्माणका लागि शिलान्यास गरेक थिए। त्यसपछि २०६७ असार २ गतेको मन्त्रिपरिषद् निर्णयले रत्नपार्कमा सो स्तम्भको निर्माण साँघुरो हुन्छ भनी ललितपुरको गुँसीगालस्थित यूएन पार्कमा सो स्तभ्म बनाउने निर्णय गरेको थियो ।

विभिन्न कारण देखाउँदै ललितपुरमा पनि सो स्तम्भको निर्माण कार्य नभएपछि तत्कालीन सरकारले २०६९ वैशाख ७ गते सो स्तम्भ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयस्थित परीक्षा नियन्त्रण कार्यालयको पश्चिमतर्फ गाड्खेलमा ६० रोपनी क्षेत्रफलमा स्तम्भ निर्माणका लागि तेस्रो पटक निर्णय गरेको थियो ।

सो निर्णयबमोजिम तत्कालीन प्रधानमन्त्री डा भट्टराईले २०६९ वैशाख १४ गते कीर्तिपुरको गाड्खेलमा शिलान्यास गरेका थिए । शिलान्यास गर्दै उनले भनेका थिए, “शाहवंशीय राजतन्त्रको सुरुवात भएको कीर्तिपुरमा नै राजतन्त्र अन्त्य भएको प्रतीकका रूपमा गणतन्त्र स्तम्भ बनाउने निर्णय सरकारले गरेको छ ।”निर्माण कार्यमा किन अवरोध भयो? भन्ने जिज्ञासामा सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता विष्णुप्रसाद शर्माले गणतन्त्र स्तम्भको निर्माण कार्य सरकारको प्राथमिकताका क्रममा तल पर्दै गएको हुनाले निर्माण कार्य अन्योलपूर्ण बन्दै गएको बताए । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot