Logo

‘चिनियाँ विदेशमन्त्रीको भ्रमण, नेपाललाई सुवर्ण अवसर’



काठमाडौं, चैत ८ । हालै मात्र संसद्बाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित भएको र राजनीतिक दलहरू आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारीमा जुटिरहेका बेलामा आगामी शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गर्दै छन् । यो भ्रमणलाई जनमानस र कूटनीतिक वृत्तले बेग्लाबेग्लै रूपमा हेरेको छ ।

एमसीसी संसद्बाट पारित गर्ने प्रयास भइरहेको बेलामा अमेरिका र चीनबीच चलेको जुहारीले जनमानसमा चीन एमसीसी विरोधीको रूपमा चित्रित भएको छ । त्यसैले जनमानसमा एमसीसी कार्यान्वयन कुन स्वरूपमा अघि बढ्छ भन्ने सम्बन्धमा चीनको चासो र सरकारले हस्ताक्षर गरेर पनि निष्क्रिय रूपमा रहेको चीनको ‘बेल्ट एन्ड रोड’ परियोजनालाई अगाडि बढाउने प्रयासको रूपमा यो भ्रमणको चर्चा भइरहेको छ । त्यति मात्रै होइन, स्थानीय निर्वाचनअघि हुन लागेको यो भ्रमणलाई जनमानसले पहिला जस्तै कम्युनिस्ट एकताको लागि पहलस्वरूप हुन लागेको रूपमा पनि लिएका छन् ।

तर, कूटनीतिज्ञहरू एमसीसीको विषयमा नेपालका राजनीतिक दलहरूबीच भएको विवादमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी पारित नभए चीन कारक रहेको भनेर अमेरिकाले बुझ्ने भनेपछि मात्र चीनले एमसीसीमा प्रतिक्रिया जनाएको जिकिर गर्दै यो भ्रमणमा चिनियाँ विदेशमन्त्रीले यही कुरा स्पष्ट पार्नसक्ने धारणा व्यक्त गरेका छन् । कुटनीतिज्ञ गोपाल थापाका अनुसार चिनियाँ विदेशमन्त्रीले एमसीसीमा हाम्रो चासो छैन है भनेर भन्न पनि सक्छन् । तर, हामीले पनि एमसीसी तिम्रो खिलाफमा छैन है, यो केवल आर्थिक विकासको लागि हो भन्ने स्पष्ट पार्न सक्नुपर्ने उनको भनाई छ ।

उनले चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण हाम्रो लागि सुवर्ण अवसर भएको जिकिर गर्दै भने ‘यो बेलामा हामीले खुलेरै चीनसँग तिम्रो चासो के हो, हामी सम्बोधन गर्छौं भनेर भन्न सक्नुपर्छ । हामी चीनको विरुद्ध कसैसँग आर्थिक सहयोग लिँदैनौं, त्यसै गरी चीनसँग पनि कसैविरुद्ध आर्थिक सहयोग लिंदैनौं । बेल्ट एन्ड रोड परियोजना ऋणमा लिन सकिँदैन, अनुदानको रूपमा देऊ भनेर भन्न सक्नुपर्छ ।’ नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्