Logo

दलहरुको गठबन्धन जोडघटाउ



काठमाडौं, चैत ८ । स्थानीय तहको निर्वाचन २०७४ लाई फर्केर हेर्दा यसपटक गठबन्धन नै नगरी दलहरू मैदानमा जाने हो भने नेकपा एमाले बलियो देखिन्छ। तर पाँचदलीय गठबन्धनका साझा उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने हो भने एमालेको अवस्था कमजोर हुने देखिन्छ। यो पाँच वर्षअघि दलहरूले प्राप्त गरेको मतलाई आधार मानेर गरिएको विश्लेषण हो। यसलाई आधार मानेर दलहरूले तालमेल गर्ने हो भने उनीहरू सही ठाउँमा पुग्न नसक्ने विज्ञहरू बताउँछन्।

राजनीतिक दलले स्थानीय स्तरमा कस्तो भूमिका खेलेका छन् र त्यसले आम जनतामा कस्तो प्रकारको मनोविज्ञान निर्माण गरेको छ भन्ने कुरा नै मतपरिणाममा निर्णायक हुने हुँदा स्थानीय तहको निर्वाचनको परिणाम नहेरीकन यसै भन्ने अवस्था नदिएको विज्ञहरूको तर्क छ। तर दलहरूले बाहिर जे भने पनि नयाँ जनादेश लिने क्रममा गठबन्धन गरे परिणाम राम्रो आउने र नगरे नराम्रो आउने भन्ने आशंकामा रुमल्लिएका छन्। सत्तासहयात्रीमध्ये कांग्रेस गठबन्धन गर्नेनगर्ने दोधारमा देखिन्छ।

माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन कायमै राख्न जोडबल गरिरहेका छन्। एमालेभित्र पनि गठबन्धनको कुरा उठेको छ। एमालेले एक्लै निर्वाचनमा भाग लिने कुरा गरिरहेका बेला सो दलको पोलिटब्युरो बैठकमा नेता घनश्याम भुसालले गठबन्धनबिना एमाले पनि कमजोर हुनसक्ने बताएका छन्। उनले कम्युनिस्ट पार्टीहरूबीच गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा गएमा एमाले पहिलो पार्टी बन्ने उनले बताएका छन्।

लड्दा आउने परिणामले एमालेलाई पाँच वर्षका लागि पछि पार्‍यो भने त्यो झन् घातक हुने विश्लेषण एमाले वृत्तभित्र भइरहेको छ। पाँचदलीय गठबन्धनकै कारण राष्ट्रियसभाको पछिल्लो निर्वाचनमा एमालेले आठ सिट गुमाउनुपरेको छ। कांग्रेसले सोच्दै नसोचेको ६ सिट जितेको छ, जसबाट ६ वर्षका लागि आफ्नो ६ सिट सुनिश्चित गरेको छ। यसले एमालेलाई ठूलो नोक्सानी भएको सोही दलका नेता बताउँछन्।

स्थानीय निर्वाचनको परिणामले संघीय निर्वाचनमा आउने परिणामको संकेत गर्नेहुँदा पनि स्थानीय तहमा एमालेले ध्यान पुर्‍याउनुपर्ने अवस्था देखिएको त्यस दलका एक नेताको भनाइ छ। कांग्रेसले गठबन्धन कायमै राखेर निर्वाचनमा जाने संकेत गरिरहेको छ। कति ठाउँमा गठबन्धन गर्ने, कति ठाउँमा नगर्ने भन्ने विषयमा अझै अध्ययन गरिरहेको छ।

स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रको मात्रै गठबन्धन हुने हो भने पनि एमालेलाई पहिलो स्थानमा आउन कठिनाइ हुनसक्ने देखिन्छ। तर स्थानीय स्तरमा टिकट पाउने व्यक्ति कस्तो हुन्छ, त्यसले पनि मत परिणाममा असर पार्ने विष्लेषण छ। एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पनि गठबन्धनमा जोडिँदा एमालेलाई ठूलै क्षति पुग्ने देखिन्छ।  नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot