‘पार्टीको केन्द्रिय कार्यसमितिले पाँच दलबीच चुनावी गठबन्धन गर्ने निर्णय गर्यो भने हामी आत्मसात् गर्न तयार छौं’ : डा. रावल


काठमाडौं, ९ चैत्र । नेपाली कांग्रेसका नेता तथा सुदुरपश्चिम प्रदेका संसदीय दलका नेता डा. रणबहादुर रावलले अहिलेपनि पाँच दलीय गठबन्धनको आवश्यकत्ता रहेको भन्दै निर्वाचनमा पनि गठबन्धन गरेर अघि बढ्ने बताए ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘स्थानीय तहको निर्वाचनको सम्बन्धमा गठबन्धन गर्नेबारे शीर्ष नेताहरुबीच हिजो छलफल भयो । गठबन्धनको महत्वको कुरा, गठबन्धन गर्नुपर्ने आवश्यक किन पर्यो त, यो जान्नुपर्ने हुन्छ। ओली सरकारले संविधान नै धुजाधुजा पारेको थियो । त्यही भएर हामीले संविधान जोगाउन यो पाँच दलीय गठबन्धन बनाएका हौं । संविधान बचाउनुपर्ने र लोकतान्त्रिक मूल्य र मान्यता बचाउनुपर्ने भएकोले हाम्रो सभापति शेरबहादुर देउवाले नेतृत्व लिनुभएको हो।’

यो गठबन्धन किन आवश्यक थियो ? भन्ने कुरा पनि सबैले बुझ्नुपर्ने उनको भनाई छ । उनले भने,‘लोकतन्त्र र संविधान बचाउन यो गठबन्धन बनेको हो। क्षणिक स्वार्थको लागि यो गठबन्धन बनाईएको होईन । कांग्रेसको कुरा गर्दा सबै ठाउँमा एक्लै चुनाव लड्ने चाहना छ। तर, गठबन्धनलाई नै जोडेर कांग्रेस जान चाहन्छ । गठबन्धनको नीति र विधि के हो भने, राष्ट्रियस्तरमा क्राईट एरिया बनाउनुपर्छ । गठबन्धनका उम्मेद्धवारलाई सबैले साथ दिनुपर्छ।’

उनले गठबन्धन गरेपछि विश्वासका साथ सबै दल अघि बढ्नुपर्ने पनि विश्वास दिलाए । उनले भने,‘गठबन्धन गरेपछि त्यसको मर्म र भावनाअनुसार जानुपर्छ । पार्टीको केन्द्रिय कार्यसमितिले गर्ने निर्णय हामी आत्मसात् गर्न तयार छौं ।’

यद्धपी उनले गठबन्धनमा पनि चूनौति रहेको उल्लेख गरे । उनले भने,‘सुदुरपश्चिम प्रदेशमा अहिले माओवादी केन्द्रको नेतृत्वमा सरकार छ । म त्यहाँ आफ्नो पार्टीको संसदीय दलको नेता हुँ । सुदुरपश्चिमको सरकारको कुरा गर्दा गम्भीर समस्या छ । बास्तवमा त्यहाँ दुई दलको मात्रै गठबन्धन छ। अरु दलसँग सहकार्य र समन्वय पनि छैन् । समग्रमा कांग्रेसले जे निर्णय गर्छ, त्यो लागु गर्न हामी तयार छौं । गठबन्धन हुन्छ। चूनौती छन्, तर त्यसलाई आत्मसात् गर्दै हामी चुनावमा जान्छौं ।’