Logo

आवश्यक पर्यो भने भरतपुर महानगर अरुलाई छोड्न पनि सक्छौं : हिमाल शर्मा



काठमाडौं, ९ चैत्र । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता हिमाल शर्माले अहिलेपनि नेपाली राजनीतिमा सहमति, सहकार्य र एकता हुने कुरा स्वभाविक नै भएको बताए । सत्ता गठबन्धनबीच स्थानीय तहको निर्वाचनमा सहकार्य गर्नेबारे सकारात्मक रुपमा छलफल चलिरहेको उनको भनाई छ । उनले भने,‘गठबन्धन कुनै पार्टीको माया र दयाले हुने कुरा होईन ।’

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी गठबन्धन गर्नेबारे कोशिस भैरहेको सुनाए । उनले भने,‘चुनावी गठबन्धनको सवालमा केन्द्रले नै माथिबाट लादेर वा निर्णय गरेरमात्रै पुग्दैन्, स्थानीय तहमा गबठन्धन गर्न बाटो फुकाईदिनुपर्छ। हामीले माथिबाट स्पष्ट पार्नुपर्नेपनि हुन्छ । गठबन्धनका दलहरुले निर्वाचनमा गठबन्धन गर्ने कुरामा यसको औचित्य र आवश्यकत्ताबारे प्रकाश पार्नुपर्छ । यस्तो भयो भने तल्लो तहमा कार्यकर्ताबीच हार्मोनी हुन्छ ।’

उनले अहिले चुनावी गठबन्धनको लागि राम्रो वातावरण बन्दै गएको आफूले ठानेको पनि सुनाए । उनले भने,‘चुनावी गठबन्धन त कतिपय ठाउँमा हुनसक्छ, कतिपय ठाउँमा नहुनपनि सक्छ । गठबन्धन कसरी गर्ने भन्नेबारे धारणा र नीति प्रष्ट हुनुपर्छ । चुनावमा पाँच दलीय गठबन्धन आवश्यक छ भन्ने निश्कर्ष आएपछि, सोहीअनुसार जानुपर्छ । महानगरपालिकाको हकमा केन्द्रबाट निर्णय हुन्छ। नगरपालिका र गाउँपालिकामा भने तल्लो तहबाट नै निर्णय हुन्छ ।’

उनले आवश्यक पर्यो भने आफ्नो पार्टीले चितवनको भरतपुर महानगरपालिका गठबन्धनको लागि छोड्न तयार रहेको पनि सुनाए । उनले भने,‘पहिलो कुरा, माओवादी केन्द्र एक्लै पनि लड्न तयार छ । अब पाँच दलबीच चुनावी गठबन्धनको लागि छलफलबाट नै निश्कर्षमा पुग्न सक्छौं । कांग्रेससहितको गठबन्धन गरेर जाने हो । अहिले एमालेसँग गठबन्धन गर्ने कुरामा हामी पुगेका छैनौं । कांग्रेससँग गठबन्धन भएन भने कार्यकर्ताको भावनालाई हामी सम्मान गर्छौं ।’



प्रतिक्रिया दिनुहोस्