Logo

बाढीले उठिबास हुने अवस्था आएपछि मन्त्रीलाई डेलिगेसन



काठमाडौं, चैत १० । बाढीका कारण स्थानियवासिन्दाको उठिबास हुने अवस्था आएको भन्दै कैलालीको टीकापुरबाट काठमाडौँ पुगेको बाढी पीडित संघर्ष समितिले डेलिगेसन बुझाएको छ । टोलीले मंगलबार अर्थमन्त्री जनार्दन शर्मा र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाललाई भेटेर तीन बुदे ज्ञापन पत्र बुझाएको हो ।

वर्षादको समयमा आउने गरेको कर्णाली, पथरैया र मोहना नदीको बाढीले बस्ती नै खतरामा रहेकाले नदी व्यवस्थापनका साथै तटबन्ध निर्माण गरि दिन आग्रह गर्दै उक्त टोलीले मन्त्रीद्धयलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझे पछि अर्थमन्त्री जनार्दन शर्मा र सिंचाई मन्त्री पम्फा भुषालले टीकापुरको बाढी प्रभावित क्षेत्रमा भएको क्षति न्युनिकरणका लागि दिर्घकालीन योजना सहित काम गर्ने आश्वासन दिए ।

सिंचाई मन्त्री भुसालले रानीजमरा कुलरिया सिंचाई आयोजनाले टीकापुरमा कृषि क्षेत्रको विकासका लागि सिंचाईको व्यवस्थापन, खेतीयोग्य जमिन र बस्ती जोगाउनका लागि तटबन्धको काम पनि गरीरहेको उल्लेख गर्दै आयोजनाबाट हुने काम गुणस्तरीय र प्रभावकारी बनाउनका लागि माहतहका कर्मचारीलाई निर्देशन दिने बताइन ।

ज्ञापन पत्रमा शाहीपुरको क्षतिग्रस्त तटबन्ध यसै आर्थिक वर्षमा सम्पन्न गर्नु पर्ने भनिएको छ । वडा नम्बर ८ मा पर्ने हुलाकी राजमार्गको यथाशीघ्र मर्मत सम्भारका लागि पहल गरि दिन पनि आग्रह गरिएको छ । कर्णाली नदीको कटान नियन्त्रण गर्न भन्दै राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिंचाई आयोजनासंग २०७२ साल चैत १३ गते हाईग्रीभा, सिद्धीशाही, प्रकाश जेभी सामाखुशीसंग सम्झौता भएको ६ वर्ष सम्म पनि निर्माण कार्य सम्पन्न नभएकोले तटबन्धको काम छिटो छरितो गरी स्थानियको जीउ, धनको सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने उल्लेख छ ।

बाढीका कारण कैलालीको पुरानो गल्ला मण्डी सत्ती बजार पूर्ण रुपमा विस्थापित हुने अवस्थामा पुगेको बाढी पीडित संघर्ष समितिका संयोजक धन सिंह साउदले बताए । साविकको नारायणपुर र धनसिंहपुर गाविसका हजारौ घरधुरी बाढीकै कारण विस्थापित हुन थाले पनि नदी नियन्त्रण गर्न तटबन्धको जिम्मा पाएका निर्माण कम्पनीले काममा ढिलासुस्ती गरीरहेको गुनासो गरे । उनले स्थानिय स्तरमा विभिन्न पहल गर्दा पनि समस्याको सुनुवाई नभएको भन्दै टोलीले बाढी पीडितका समस्याहरु ल्याएर सरोकारवाला मन्त्रालयमा ध्यानाकर्षण गराएको साउदले जानकारी दिए ।

२०७८ साल कार्तिक २ गते कर्णाली नदीमा आएको विनाशकारी बाढीका कारण टीकापुर नगरपालिका वडा नम्बर ५ मा पर्ने शाहीपुर क्षेत्रबाट कर्णाली नदी पस्दा टीकापुर ८ अन्तर्गत हुलाकी सडक खण्डको सुर्यपुर देखि कर्णाली पुल सम्मको करिब ५ सय मिटर सडक खण्ड पूर्ण रुपमा नष्ट भएको छ । उक्त सडक खण्ड अझै मर्मत भएको छैन । बाढीले त्यस क्षेत्रको सयौ विघाह जमिन बगरमा परिणत टीकापुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष दिर्घ बहादुर ठकुल्लाले बताए । उनले टीकापुर क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको रोहबरमा बाढी पीडित क्षेत्रका समस्याहरु समाधानका लागि केन्द्र सरकारको ध्यानाकर्षण गराउनका लागि तीन बुदे ज्ञापन पत्र बुझाएको जानकारी दिए ।

सुदूपश्चिम प्रदेश सभाका सदस्य डा रण बहादुर रावल, टीकापुर नगरपालिकाका मेयर तपेन्द्र बहादुर रावल, टीकापुर नगरपालिका ८ का अध्यक्ष दिर्घ बहादुर ठकुल्ला र नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नेप बहादुर चौधरीको विशेष उपस्थितिमा ज्ञापन पत्र बुझाइएको हो । बुधबार प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बाढी पीडित संघर्ष समितिका संयोजक धन सिंह सादले जानकारी दिए ।

टीकापुरको बाढी प्रभावित क्षेत्रमा वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले समेत केहि समय अगाडि मात्र अवलोकन गरेका थिए । उनले अवलोकनका बेला बाढी प्रभावित क्षेत्रको समस्या समाधानका लागि पहल गर्ने आश्वासन समेत दिएका थिए । कर्णाली, पथरैया र मोहना नदीको कटान र बाढीबाट टीकापुर नगरपालिका वडा नम्बर ५, ६, ७ र ८ का बस्तीहरु पूर्ण रुपमा विस्थापित हुने अवस्था आएको स्थानियबासिन्दा समेत रहेका साउदको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्