Logo

कांग्रेसले ६ वटै महानगरपालिका छाड्दिन भन्न मिल्दैनः जसपा नेता



काठमाडौं, १० चैत । जनता समाजवादी पार्टीका नेता नवराज सुवेदीले तालमेलमा जाने हो भने नेपाली कांग्रेसले ६ वटै महानगर छाड्दिन भन्न नमिल्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सुवेदीले भने, “गठबन्धनमा जाँदाखेरि कुन घटकले कहाँ लिने भन्ने कुरा छलफलका आधारमा तय हुन्छ । विगतको जनमत र उम्मेदवारको दक्षता, योग्यता आदि पनि हेर्नुपर्छ । कांग्रेसले पनि पावर सेयरिङमा जानैपर्छ । ६ वटै महानगर छाड्दिन भन्न मिल्दैन । यसबारेमा शेखर कोइरालाजीसँग पनि हामी छलफल र बहस गर्छौं ।”
उनले विगतमा जितेका आधारमा वीरगन्ज नगरपालिका जसपालाई नै चाहिने बताए । सुवेदीले थपे, “पार्टीलाई कुनै व्यक्तिले धोका देलान्, गद्दारी गर्लान् । पार्टीमा आउने जाने भइरहन्छ । चुनावको मुखमा दलबदल हुनु अस्वाभाविक पनि होइन । वीरगन्ज त जसपाले जितेकै हो त । वीरगन्ज जसपालाई नै चाहिन्छ ।”
नेता सुवेदीले दुईदुई पटक संसद् विघटन गरेर संविधान मिच्ने नेकपा एमालेले ६० प्रतिशत सिट जित्छु भन्ने हास्यास्पद भएको पनि औंल्याए । उनले भने, “स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा ७९ वटा दल दर्ता भएका छन् । नेकपा एमालेले ६० जित्छौ भन्ने दाबी कसरी गर्न सक्छ ? दुईदुई पटक संसद् विघटन गरेर संविधान मिच्ने नेकपा एमालेले कुन नाताले ६० प्रतिशत सिट जित्न सक्छ ?”
वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न नसके पनि संविधानलाई लिकमा ल्याएको उनले बताए । सुवेदीले भने, “जनअपेक्षा पूरा भए त हामी पनि भन्दैनौं । सबैथोक काम गरेको छ पनि भन्दैनौं । वैदेशिक सम्बन्ध सन्तुलित बनाएको छ । संविधानलाई लिक ल्याएको छ । यस अर्थमा गठबन्धन घटकलाई एमालेले पराजित गर्ने आधार देखा पर्दैन । केपी ओलीले पनि हिजो मिलीजुली सरकार चलाएको होइन ? उहाँले गठबन्धन गर्दा उपयुक्त हुने, अरुले गर्दा उपयुक्त नहुने ?”
जसपा नेता सुवेदीले गठबन्धन घटकले एक साताभित्र तालमेलको खाका बनाउने पनि बताए । उनले भने, “कुन कुन ठाउँमा के कसरी गठबन्धन गर्न सकिन्छ, एक साताभित्र तालमेलको खाका ल्याउँछौं । तालमेलमा सबै केन्द्रले हस्तक्षेप गर्दा संघीयताको मर्म मर्छ । त्यसैले यसको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छ । तालमेल नभएका कतिपय ठाउँमा गठबन्धन घटकभित्रकै दलहरुबीच पनि स्वस्थ प्रतिस्पर्धा हुन सक्छ ।”
मुलुक वैदेशिक ऋणमा चुर्लुम्म डुबेकाले चीनबाट सकेसम्म अनुदान लिन लाग्नुपर्ने सुवेदीले औंल्याए । उनले भने, “चिनियाँ विदेशमन्त्री आउँदै हुनुहन्छ । चीन नेपालको विकासको महत्वपूर्ण साझेदार हो । चीनले नेपालको विकास र पूर्वाधारमा लगानी गरेको छ । अहिले नेपाल खर्बौं वैदेशिक ऋणमा चुर्लुम्म डुबेकाले अब ऋण लिन नसक्ने अवस्थामा छ । त्यसैले अब अनुदानका लागि मार्गप्रशस्त गर्नुपर्छ ।”

 



प्रतिक्रिया दिनुहोस्