Logo

वैदेशिक ऋण लिनु नै अपराध होइनः डा. प्रकाशचन्द्र लोहनी



काठमाडौं, १० चैत । राप्रपाका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले चिनियाँ विदेशमन्त्री वाङको भ्रमण दुई देशबीच रहेका आशंका मेटाउने र सहयोग बढाउने अवसर भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. लोहनीले भने, “छिमेकी देशका विदेशमन्त्रीको भ्रमण हुनु राम्रो हो । दुई देशबीच कुनै आशंका छ भने मेटाउने अवसर पनि हो । कुनै सहयोग अघि बढाउने मौका पनि हो । एउटा मित्रलाई परेको समस्या अर्को मित्रलाई सुनाउनुपर्छ र एक मित्रको समस्या अर्को मित्रले बुझ्नुपर्छ । भ्रमणका क्रममा दुवै पक्षलाई फाइदा हुने काम गर्नुपर्छ । एक अर्काप्रति विश्वास बढाउनुपर्छ ।”
मित्रराष्ट्रसँग पार्टी स्वार्थ वा सत्ता स्वार्थ छाडेर राष्ट्रिय स्वार्थमा आधारित भएर वार्ता गर्न उनले सुझाए । उनले भने, “यस्तो भ्रमणलाई आर्थिक अन्तर्घुलनका दृष्टिकोणले हेर्नुपर्छ । चीनसित हामीले लिने भनेको न्यून ब्याजदरको ऋण हो । ऋण लिएपछि कसरी लगानी गर्ने र कसरी प्रतिफल निकाल्ने भन्ने बारे सोच्नुपर्छ । महँगो ब्याजमा ऋण लिएर हामीले प्रतिफलबाट ब्याज तिर्न सक्दैनौं । ऋण फिर्ता गर्न सक्छौं सक्दैनौं, नेपाल सरकार स्पष्ट हुनुपर्छ ।”
वैदेशिक ऋण लिनु कुनै अपराध नभएको डा. लोहनीले बताए । उनले भने, “नेपाल सरकारले विश्व बैंक, एडीबी, आईएमएफ आदिसँग ऋण लिइरहेको छ । ऋण लिइसकेपछि कसरी सदुपयोग गर्ने र कसरी ब्याज तिर्ने भन्ने सोच्नुपर्छ । ऋणको अनुपात बढेको छ । तर मुलुक संकटमा पुगेको छ म भन्दिनँ । देश के कारणले टाट पल्टन्छ ? सत्ताधारीले लुँड्याएर र बेइमानी गरेर न हो । उद्योग मन्त्रालयमा ७ महिनादेखि मन्त्री नै छैन । लथालिंग पाराले नै मुलुक डुब्ने हो । तर ऋण लिनै नहुने सिद्धान्त कहीं पनि छैन । ऋण लिनु नै अपराध होइन ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot