काठमाडौं, ११ चैत्र । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले महिला तथा बालबालिकाको स्वास्थ्य सेवामा पायक पर्ने स्थानबाट सेवामा पहुँच पु¥याउन थप दुईवटा खोप केन्द्र र एउटा प्रसूति केन्द्र स्थापना गरेको छ ।
नगरपालिकाको वडा नं २ को बालुवापाटीमा प्रसूति केन्द्र स्थापना गर्नुका साथै वडा नं १ को चुरीथुम्का तथा वडा नं ५ को लामपाटामा खोप केन्द्र स्थापना गरिएको हो । नगरपालिकामा सातवटा स्वास्थ्यचौकी र पाँचवटा आधारभूत स्वास्थ्य केन्द्र छन् र अहिले ग्रामीण क्षेत्रका बालबालिका तथा महिलाको स्वास्थ्य सेवालाई ध्यानमा राखेर थप दुईवटा खोप केन्द्र र एउटा प्रसूति केन्द्र स्थापना गरी सेवा सञ्चालनमा ल्याएको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख दीपक घिमिरेले बताए ।
नगरपालिका भएपछि तीनवटा सहरी क्लिनिक थप गरिएको घिमिरेको भनाइ छ । हालै स्थापित सो खोपकेन्द्रमा बालबालिकालाई लगाउने नियमित खोप कार्यक्रम र कोभिड १९ विरुद्धको खोपसमेत सञ्चालन हुनेगरी सेवा प्रवाह हुनेछ ।
सो क्षेत्रमा स्थापना गरिएको केन्द्रमा आवश्यक सामग्री र जनशक्तिसहित सेवा सुरु गरिएको मण्डनदेउपुर नगरपालिका–१ का वडाध्यक्ष लक्ष्मणप्रसाद बस्ताकोटीले बताए । अब बाँकी आवश्यक रहेको ठाउँमा पनि खोपकेन्द्र निर्माणको अन्तिम चरणमा रहेको उनले बताए ।
‘स्वास्थ्य नै जीवन भएकाले स्वास्थ्य क्षेत्रको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौं । भूगोलको हिसाबले पनि निकै विकटमा रहेको बस्तीका समुदायलाई नजिकैबाट सेवा पु¥याउनका लागि माथिल्लो चुरीथुम्कालाई छनोट गरेर खोपकेन्द्र स्थापना गर्दै छौं’ वडाध्यक्ष बस्ताकोटीले बताए ।
बस्ताकोटीका अनुसार १२ वडामध्ये अहिलेसम्म जम्मा सातवटा वडामा स्वास्थ्य केन्द्र रहेको बताउँदै अब बाँकी रहेका वडामा भवन निर्माणको काम भइरहेको र सो संस्थामा आवश्यक कर्मचारी दरबन्दी नभएको कारण त्यसको लागि नगरपालिकाले एक÷एकजना अनमी, सीएमए र एउटा कार्यालय सहयोगीलाई करारमा राखेर सेवा दिने काम छिट्टै सुरु हुनेछ ।




प्रतिक्रिया