Logo

ओली र प्रचण्ड मिलाउने चिनियाँ रणनीति



काठमाडौं, ११ चैत्र । यतिबेला दुई ठूलो कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरु चीनमा छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल र माओवादी नेता वर्षमान पुन चीनमा छन् । उनीहरु दुवै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलाई मिलाउनुपर्ने पक्षका हुन् । नेकपा हुँदा यी दुवै नेता पार्टी एक बनाउन अन्तिम समयसम्म लागे तर सकेनन् । अझैपनि कम्युनिस्ट एकताको पक्षमा छन् । दुवै नेता चीन पुग्नु अर्थपूर्ण छ ।

विष्णु पौडेलको टोली टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका मन्त्री साङ ताओसँग भेट गरे । उक्त भेटपछि साङ ताओले आफ्नो नेपाल भ्रमणको कार्यतालिकासमेत रद्द गरे ।

यी भेटहरु कम्युनिस्ट एकताको माहोल तयार गर्न केन्द्रित देखिन्छन् । चीनले कम्युनिस्ट मिलाउने प्रयास गर्दै आएको छ । चुनाव नजिकिदै गर्दा चीनले ओली र प्रचण्डलाई मिलाउने पहल थालेको हो । यसबीच चिनियाँ विदेशमन्त्री वाङ यी २५ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शुक्रबार नेपाल आएका छन्। उनले पाकिस्तान र अफगानिस्तान भ्रमण गरी भारत पुगेका थिए । दिल्लीबाट नेपाल आए ।

चिनियाँ विदेशमन्त्रीको भ्रमण दलमा सीसीपीका नेताहरु, उर्जा, वाणिज्य र वित्त मन्त्रलायका अधिकारीहरु पनि रहेका छन्।

चिनियाँ विदेशमन्त्रीले उच्चस्तरीय भेटवार्ता गरिरहँदा भ्रमण दलमा रहेका सीसीपीका अन्य नेताहरु भने कम्युनिस्ट नेताहरुसँगको भेटवार्तामा व्यस्त भएका छन्। विश्वस्त स्रोतका अनुसार चीन अहिले नेपालमा रहेका सबै कम्युनिस्टहरुलाई एकढिक्का बनाउन चाहन्छ।

स्थानीय तहको निर्वाचन संघारमा आइसकेको समयमा विभिन्‍न कित्तामा विभाजित कम्युनिस्टहरुलाई एकढिक्का बनाएर आगामी निर्वाचनपछि मुलुकमा फेरि कम्युनिस्ट सत्ता आएको हेर्ने चिनियाँ चाहना रहेको छ। नेपालमा लोकतान्त्रिक भनिएको नेपाली कांग्रेस दक्षिण र पश्‍चिमी खेमातर्फ ढल्किएको विश्लेषण गर्दा चिनियाँ प्रभाव कायमै राख्‍नका लागि चीनले नेपालमा कम्युनिस्ट सत्ता चाहन्छ। यसका लागि सबै कम्युनिस्टहरु एकढिक्का नभएर सम्भव छैन।

२०७४ सालको निर्वाचनको समयमा पनि दुई ठूला कम्युनिस्टहरुलाई एकठाउँमा ल्याउन चीनले ठूलो मिहनेत गरेको थियो। तर, ०७७ कात्तिकमा दक्षिणतर्फबाट भारतीय जासुसी संस्था रअका प्रमुख सामन्त गोयलको नेपाल भ्रमणपछि नेपाल कम्युनिस्ट पार्टीमा विभाजन सुरु भएको थियो।

उक्त विभाजनलाई रोक्‍न चीनले निकै ठूलो प्रयत्‍न गरे पनि सफल हुन सकेको थिएन। चीनले नेकपा माओवादीलाई कुनै अर्को समाजवादी अथवा अन्य कुनै नाम दिएर माओवादी भन्‍ने शब्दावली हटाउन चाहन्छ। जसका कारण सबै कम्युनिस्टहरुलाई एक ठाउँमा ल्याएर आगामी चुनावमा होमिन आग्रह गर्ने चिनियाँ रणनीति रहेको छ।

स्थानीय चुनावमा सकेसम्म सबै कम्युनिस्ट नभएको अवस्थामा प्रचण्ड, माधव नेपाल र बाबुराम नेतृत्वको पार्टीहरुलाई गठबन्धन गराएर संघ तथा प्रदेश निर्वाचनमा सबै कम्युनिस्टहरुलाई गोलबद्ध गर्ने गरी चीनले संवाद थालेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot