Logo

उपत्यकामा निर्वाचन अधिकृत महिला मात्रै



काठमाडौं, चैत १२। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ मा काठमाडौँ उपत्यकामा निर्वाचन अधिकृत महिला मात्रै नियुक्त गर्ने तयारी गरेको छ । आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा निर्वाचन अधिकृत महिला मात्रै राख्ने तयारी गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “तेस्रो रणनीतिक योजना, लैङ्गिक मैत्री चुनाव र समावेशिताप्रति आयोग सधैँ सकारात्मक रहेको छ, त्यसैको कडीका रूपमा महिला अधिकृत नियुक्त गर्ने तयारी गरेका छौँ ।”

काठमाडौँ उपत्यकाका तीन जिल्लामा १८ वटा स्थानीय तह छन्स जसमध्ये काठमाडौँ महानगर, ललितपुर महानगर र भक्तपुर नगरमा भने जिल्लाका मुख्य निर्वाचन अधिकृत नै निर्वाचन अधिकृतको भूमिकामा रहनेछन् ।

बाँकीको १५ स्थानीय तहमा अधिकृत महिला रहने गरी तयारी गरिएको प्रवक्ता पौडेलले बताए । मुख्य निर्वाचन अधिकृतमा न्यायाधीश मात्रै नियुक्त हुँदै आएका छन् । निर्वाचन अधिकृतका रूपमा भने न्याय र प्रशासन सेवाका उपसचिव नियुक्त हुँदै आएका छन् ।

आयोगले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट यसअघि नै निर्वाचन अधिकृतका रूपमा नियुक्त हुने कर्मचारीको सूची प्राप्त गरिसकेको छ ।उक्त सूचीबाट नै काठमाडौँ उपत्यकाका विभिन्न कार्यालयमा सेवामा रहेका उपसचिव श्रेणीका अधिकृत महिला नियुक्त गरिने आयोगले जनाएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्