Logo

चीनले नाकाबन्दी गरेकै छैन, यस्तो शब्द प्रयोग गर्नुहुन्नः खगराज अधिकारी



काठमाडौं, १४ चैत । नेकपा एमालेका नेता खगराज अधिकारीले चीनले नेपाललाई अघोषित नाकाबन्दी नगरेको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता अधिकारीले भने, चीनले नेपाललाई नाकाबन्दी गरेकै छैन । हामीले यस्तो शब्द प्रयोग गर्नुहुन्न । केही समय मैले पनि परराष्ट मन्त्रालय सम्हालेको थिएँ । कूटनीतिक मर्यादामा बसेर शब्द प्रयोग गर्नुपर्छ । चीन नाका सम्पूर्ण रुपमा कोभिडका कारण सक्षम भएको छैन । यसमा नेपाल सरकारको उदासीनता पनि कारण हो ।
चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण सफल भएको पनि उनले दाबी गरे । उनले भने, चीन नेपालको परम्परागत र समस्यारहित मित्र हो । बरु चीनलाई हामीले विश्वासमा लिन सकेनौं । भूराजनीतिक वास्तविकता अनुसार सन्तुलन राखेर काम गर्न सकेनौं । चीन र नेपालबीचको उचाइलाई जुन महत्व दिनुपथ्र्यो, त्यो बुझ्न सकेनौं । तर समग्रमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण सफल भएको छ ।
नेपालले चीनसँग सहुलियत ऋण लिएर देशको विकास ष्र्नुपर्ने पनि उनले औंल्याए । एमाले नेता अधिकारीले भने, नेपाल आत्मनिर्भर नभएसम्म ऋण वा अनुदान लिनैपर्छ । पाएसम्म अनुदान लिने हो, त्यो नभए पनि सहुलियत ऋणमा देश बनाउनुपर्छ ।
पोखरा विमानस्थल निर्माणका लागि लिएको ऋणलाई अनुदानमा बदल्ने कोसिस सरकारले नगरेको आरोप पनि उनले लगाए । अधिकारीले थपे, पोखरा विमानस्थल चीनको ऋण सहायतामा बनेको छ । चीनलाई विश्वास दिलाउन सकेको भए त्यो ऋणलाई अनुदान सहायतामा परिणत गर्ने प्रशस्त सम्भावना थियो । तर सरकारले कोसिस गरेन ।
उनले केपी ओलीले निर्वाचन आयोगमाथि आक्रमण नगरेको दाबी पनि गरे । उनले भने, हाम्रा अध्यक्ष केपी ओलीले निर्वाचन आयोगमाथि आक्रमण गर्नुभएको होइन, सचेत गराउनुभएको हो । निर्वाचन आयोग भनेको इन्साफ दिने ठाउँ हो । त्यसले निष्पक्षता गुमाउन मिल्दैन । सत्तापक्षको सेटिङ त कस्तो भयो भन्ने त दल फुटाउने कुरामा देखिइहाल्यो । मतपत्रको रंग फेर्नुभयो, हरियो बनाउनुभयो । यसमा नियत जोडिएको हुन सक्छ ।
आगामी निर्वाचनमा नेकपा एमालेले कसैसँग तालमेल नगर्ने पनि उनले स्पष्ट पारे । उनले भने, तालमेल भनेको चुनाव जित्नका लागि हो । जोसँग पनि मिलेर जितेर के गर्ने ? नीतिहीन र गन्तव्यहीन गठबन्धनले पछाडि पार्नेबाहेक केही काम गरेन । विचार, नीति सिद्धान्त अनुसार अघि बढ्दा नै सुखद हुन्छ भन्ने हाम्रो निष्कर्ष हो ।
माओवादी नेताहरुको विश्वास नभएको पनि उनले आरोप लगाए । उनले भने, एमसीसीमा चर्कने लीलामणि पोखरेल, नारायणकाजी श्रेष्ठ, लेखनाथ न्यौपाने कता गए ? तपाईंकै टेलिभिजनमा लेखनाथ न्यौपानेले एमसीसी पास गरे प्रचण्डलाई जुत्ताले हान्छु भनेका होइनन् ? जुत्ताले हाने कि फूल बर्साए ? लीलामणि, नारायणकाजी ? कता गए ?



प्रतिक्रिया दिनुहोस्

Screenshot