Logo

धरहरा उद्घाटनको एक वर्षः ठेकेदार कम्पनी चौथो पटक म्याद थपको माग गर्दै



काठमाडौं, चैत १५ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गरेको एक बितिसक्यो तर धरहरा निर्माण गरिरहेको निर्माण कम्पनी जिआइइटिसी–रमन जेभीले भने धरहराको लागि चौथो पटक म्याद थप गरिदिन सरोकारवाला निकायसँग प्रस्ताव पठाएको छ।

पूर्वप्रधानमन्त्री ओलीले गत वैशाख ११ गते धरहरा वरपरका अत्यावश्यक पूर्वाधार तयार नहुँदै हतार–हतार उद्घाटन गरेका थिए। उद्घाटन गरेको एक वर्ष पुगुञ्जेलसम्ममा पनि धरहराको भौतिक प्रगति भने ७८ प्रतिशत मात्रै भएको छ।

नेपालका राजनीतिक नेतामा निर्माणको काम नसकी उद्घाटन गर्ने मोह अधिक देखिन्छ, यसले आयोजना वर्षौंसम्म अलपत्र पर्ने गरेको देखिएको छ।

जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले धरहरा आयोजनाको म्याद ०७८ चैत मसान्तभित्रै सकिने भएकाले चौथो पटक म्याद थप गरिदिन सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भवन तथा आवास कार्यालयलाई प्रस्ताव गरिसकेको बताए ।

‘हामीले धरहराको म्याद अझै डेढ वर्ष थपिदिन प्रस्ताव पेश गरेका छौं’, उनले भने– ‘मन्त्रालयले कम्तिमा पनि ९ महिनाभन्दा बढी थपिदिने संकेत गरिसकेको छ, हेरौं कति थप गर्छ।’ निर्माण कम्पनीका अनुसार अहिलेसम्म आयोजनामा दुई अर्ब १२ करोड अर्थात् ६६ प्रतिशत वित्तीय प्रगति भएको छ। आयोजना तीन अर्ब आठ करोड ११ लाख रूपैयाँमा ठेक्का लगाइएको थियो।

निर्माण कम्पनीका अनुसार धरहरा परिसरमा निर्माण गरिएका संरचनाको फिनिसिङको काम अझै बाँकी रहेको छ। कम्पनीका अनुसार समयमै साइट उपलब्ध नहुनु र कोभिड १९ लगायतका कारणले आयोजना तोकिएको समयभित्रै निर्माण सम्पन्न हुन नसकेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्