Logo

प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल हुन्छ : झलनाथ खनाल



काठमाडौं, १७ चैत्र । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सफलताको कामना गरेका छन् । क्लबको २४औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै नेता खनालले प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल हुने विश्वास दिलाए । उनले रिपोर्टर्स क्लब नेपालले लोकतान्त्रिक आन्दोलनमा ठूलो भूमिका खेलेको स्मरण गराए । उनले भने,‘क्लबले संविधान निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलेको थियो । क्लब र ऋषि धमलालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।’

उनले मुलुक अब स्थानीय निकायको निर्वाचनमा प्रवेश गर्न लागेको उल्लेख गर्दै संविधानको कार्यान्वयनको लागि सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा पनि जोड दिए। उनले भने,‘हामीले संविधान राम्रो बनाएका छौं । तुलनात्मक रुपमा यो संविधान राम्रो बनाएका छौं । जनक्रान्तिका उपलब्धिलाई संविधानमार्फत संस्थागत गरेका छौं । संविधानको रक्षा सबैले गर्नुपर्छ । मिडियाले पनि यो जिम्मेवारी पूरा गर्नुपर्छ । प्रेस स्वतन्त्रतालाई संविधानले राम्रो स्थान दिएको छ।’

उनले अहिलेपनि आफूहरुसामू चूनौति रहेको सुनाए । उनले भने,‘व्यापार घाटा झनै बढेको छ। विविध खालका आर्थिक समस्या सामना गर्नुपरेको छ । राजनीतिक रुपमा स्थिरता दिन सकिएन । यहाँभन्दा ठूलो दुःखद् कुरा केही पनि हुँदैन् । अब हामी जनताको अदालतमा खडा हुने स्थिति छ । अब प्राप्त हुने जनमतले अग्रगति र स्थिरतातर्फ लैजान मार्गदर्शन गर्छ । आउने निर्वाचनलाई शान्तिपूर्ण र निश्पक्ष ढंगले सम्पन्न गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्