Logo

रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सव : कसले के भने ? (भिडिओसहित)



चुनावमा गठबन्धन एकतावद्ध भएर बढ्छः प्रधानमन्त्री देउवा
‘श्रीलंकाजस्तो नेपालको अर्थतन्त्रको डरलाग्दो स्थिति भयो भन्ने त होईन, भोलि अप्ठ्यारो स्थिति आउनसक्छ’ : प्रचण्ड
राजनीतिक नेतृत्वले गर्नुपर्ने काम नेपाली मिडियाले उठाउने गरेको पाउँछु : डा. भट्टराई
प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल हुन्छ : झलनाथ खनाल
गठबन्धनको ढंग पुगेन भने सम्बन्धित मित्रहरुले दुःख पाउनुहुन्छ : नेम्वाङ
‘चुनाव महासंग्राम होइन महाउत्सवका रुपमा सम्पन्न गर्नेछौं’ : सञ्चारमन्त्री कार्की
महिला देश चलाउन सक्षम छन् : चन्दा चौधरी

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा गठबन्धन एकतावद्ध भएर बढ्ने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गठबन्धन एकतावद्ध भएर बढ्ने बताएका हुन् । ‘गठबन्धनका सबैको सहयोगमा म प्रधानमन्त्री बनेको हो,’ देउवाले भने, ‘चुनावमा पनि एकतावद्ध भएर अगाडि बढ्छौं ।’ आफूहरु सबै अप्ठ्याराहरुलाई छिचोल्दै अगाडि बढेको र भविष्यमा पनि समस्याको समाधान गरेर बढ्ने बताए ।
चुनावलाई स्वतन्त्र र भयरहित बनाउन आफू गम्भीर भएर लागेको बताए । सफल र स्वतन्त्र चुनावका लागि मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै साथ र सहयोगको आग्रह गरे ।

देउवाले मिडियामा मिथ्या र भ्रामक समाचारहरुप्रति गम्भीर हुनुपर्ने बताए । उनले मिडियाले आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निभाएको बताए । रिपोर्टर्स क्लब नेपालले देशमा भएका महत्वपूर्ण परिवर्तन देखि संविधान निर्माणमा प्रशंसनीय भूमिका खेलेको बताए । उनले भने, परिवर्तनका समयमा रिपोर्टर्स क्लब नेपालले महत्वपूर्ण भूमिका खेलेको छ । देउवाले क्लबलाई २४औं वार्षिकोत्वसमा शुभकामना तथा बधाई समेत दिए ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी तीनै तहको निर्वाचनमा गठबन्धन हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सव समारोहमा शुभकामना दिँदै उनले गठबन्धन आवश्यकत्ताले जन्मिएको भन्दै यो निर्वाचनसम्म कायम रहने स्पष्ट पारे । उनले भने,‘गठबन्धन एउटा सन्भर्दमा जन्मिएको हो । संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनाएका हौं । कांग्रेसले पनि गठबन्धन कायम राखेर जाने भन्ने निर्णय गरिसकेको छ। अब कुनै द्धिविधा छैन् । निर्वाचन शान्तिपूर्ण हुन्छ। निश्पक्ष हुन्छ ।’

प्रचण्डले मुलुकको संकटमोचनको लागि आफ्नो पार्टीले जहिलेपनि महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । उनले भने,‘देशमा आउने सबै संकटमा मोचनको भूमिका खेल्ने काम माओवादी केन्द्रले गरेको छ । तर सबैले माओवादीलाई त्यो भूमिका खेलेको रुपमा स्विकार नगरेको स्थिति छ । संविधान, गणतन्तत्र, समावेशिताको रक्षा गर्ने चाहीँ माओवादी केन्द्र नै हो भन्ने जनताको बुझाई छ । यो मेरो अहंकार होइन ।’

दाहालले क्लब २४ वर्ष पुरा गरेको अवसरमा बधाई तथा सफलताको शुभकामना दिए । उनले भने,‘नेपालको राजनीतिक परिवर्तनको प्रक्रिया, शान्ति प्रत्रmिाय, संविधान निर्माणको प्रक्रिया, संविधान कार्यान्वयनको प्रक्रियामा क्लबले विशिष्ट पहिचान बनाउन सकेको छ, म यसको लागि बधाई भन्न चाहन्छु । धन्यवाद भन्न चाहुन्छ । क्लबले आफ्नो मौलिक पहिचान बनाएको छ। ’

उनले क्लब र यसको नेतृत्वकर्ता ऋषि धमलाको प्रस्तुतिको विशिष्टताले पनि यसले आफ्नो पहिचान बनाउन सकेके हो भन्ने धारणा राखे । उनले भने,‘संघीय लोकतान्त्रिक प्रक्रियाको एउटा महत्वपूर्ण क्षेत्र भनेको प्रेसको क्षेत्र हो । प्रेसको जसरी विकास भएको छ, जुन गतिमा विकास भएको छ, स्वतन्त्रताको जुन लेभलमा उपभोग गरिएको छ, यो उत्साहजनक छ। संविधानमा पनि अंकुश लगाईएको छैन ।’

युद्धबाट शान्तिमा आउने प्रक्रियाको एउटा नेतृत्वको हैसियतले पनि आफूले जनयुद्धको कालमा पनि नेपाली प्रेसले आग्रह र पूर्वाग्रह नराखेको दाहालको भनाई थियो । उनले भने,‘अहिले अरु थुप्रै समस्या छन् । प्रेस चाहीँ व्यवस्थित् हुँदै गएको छ। प्रेसले आफ्नो दायित्व पूरा गरेकै देखिन्छ । शान्तिलाई प्रवद्र्धन गर्ने कुरामा, आर्थिक दिशामा लैजाने कुरामा प्रेसको महत्वपूर्ण भूमिका छ । नेपालको समृद्धिको यात्रामा प्रेसको भूमिका राम्रो छ । आगामी दिनमा अझै सशक्त भूमिका खेलोस ।’

उनले देशमा ठूला–ठूला परिवर्तन भएपनि जनताको जीवनस्तरमा कतिको परिवर्तन भयो ? भन्ने कुरा महत्वपूर्ण रहेको सुनाए । उनले भने,‘सिंहदरबारको अधिकार गाउँमा पुगेको भएपनि जनताले यसको अनुभुति गर्न पाए कि पाएनन् भन्ने कुरा हो । आर्थिक तरलताको अवस्था छ, अर्थतन्त्र अहिले गम्भीर मोडमा छ। यसबारेमा हामीले गम्भीर चर्चा गर्यौं । यो विषयमा प्रधानमन्त्रीलाई मैले बृहत्तर छलफल गर्न आवश्यक छ भनेर भनेको छु । अर्थतन्त्रलाई दुर्घटनातिर जानबाट रोक्नुपर्छ भनेका छौं । अर्थतन्त्रलाई सम्हालेर लैजानेतर्फ हाम्रो प्रयास जारी छ।’

उनले श्रीलंकाजस्तो स्थितिमा नेपाल नरहेको पनि जिकिर गरे । उनले भने,‘श्रीलंकाजस्तो डरलाग्दो स्थिति भयो भन्ने त होईन, भोलि अप्ठ्यारो स्थिति आउनसक्छ । अहिले नै समाधानको लागि पहल सुरु भैसकेको छ । उपाय निकाल्छौं ।’

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलले उठाउनुपर्ने मुद्दा र विषय नेपाली मिडियाले उठाएपछि मात्रै त्यसलाई दलले बोक्ने गरेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । सम्बोधनको क्रममा उनले भने,‘ अहिले हामी अत्यन्तै लम्बिएको संक्रमणकालबाट गुज्रिरहेको छौं । लोकतन्त्र र अर्थतन्त्रले राम्रोसँग खुट्टा टेक्न सकेको छैन् । मिडियाले ठूलो भूमिका खेलेको छ । राजनीतिक नेतृत्वले गर्नुपर्ने काम मूलतः नेपालमा मिडियाले उठाउने गरेको पाउँछु । भ्रष्टाचार, आम जनताको विषयलाई मिडियाले उठाउँछ र हामीले पछ्याउने गरेका छौं ।’

उनले क्लबको स्थापना कालमा आफूहरु भूमिगत जीवनमा रहेको स्मरण गराए । उनले भने,‘क्लबको स्थापनाकालमा हामी भूमिगत थियौं, तर ०५९ सालमा शान्ति वार्ता थियो । ऋषि धमलाले नाटकीय ढंगले कार्यक्रम सञ्चालन गर्नुभएको थियो, त्यसलेशान्ति वार्तालाई उचाईमा पुर्याउन भूमिका खेलेको थियो । क्लबको सफलताको कामना गर्न चाहन्छु ।’

उनले राष्ट्रियताको प्रश्न अहम नै रहने सुनाए । उनले भने,‘पछिल्लो समय भूराजनीति बदलिँदो छ। भरत, चीन र अमेरिकाको सम्बन्धले हाम्रो आन्तरिक सम्बन्धलाई नै असर पार्ने देखिन्छ । नेपालमा राष्ट्रिय सहमति बनाउनैपर्छ । महाशक्तिहरुको बीचमा रहेको देशले राष्ट्रिय सहमति कायम गर्नुपर्छ । मिडिया जगतले प्रधानता दिओस । युक्रेनको घट्ना हामीलाई ठूलो पाठ हुनसक्छ। विश्व महाक्तिहरुको चासो बढ्दो छ । नेपालले सन्तुलित सम्बन्ध बनाएर अघि बढ्नुपर्छ । यही शताब्दीमा विश्वकै एक अग्रणी केन्द्र बन्नसक्छ। त्यसकोल ागि राष्टिय समझदारी बनाउनैपर्छ ।

आफूहरुले लोकतन्त्रलाई अझै ठीक ढंगले पूर्णता दिन नसकेको स्विकारे । उनले भने,‘दुई तिहाई बहुमतले किन पूरा कार्यकाल पार गर्न सकेन ? लोकतन्त्रका बाँकी प्रश्न हामीले हल गर्नैपर्छ । खिचडी प्रकारको संसदीय व्यवस्थालाई सच्याउनुपर्छ, अब प्रत्यक्ष शासन प्रणालीमा जानैपर्छ। आर्थिक मुद्दा ठूलो कुरा हो, अब श्रम निर्यात र सामान आयात गर्ने अर्थतन्त्र होईन ।’

 

प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल हुन्छ : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सफलताको कामना गरेका छन् ।
क्लबको २४औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै नेता खनालले प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल हुने विश्वास दिलाए । उनले रिपोर्टर्स क्लब नेपालले लोकतान्त्रिक आन्दोलनमा ठूलो भूमिका खेलेको स्मरण गराए । उनले भने,‘क्लबले संविधान निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलेको थियो । क्लब र ऋषि धमलालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।’

उनले मुलुक अब स्थानीय निकायको निर्वाचनमा प्रवेश गर्न लागेको उल्लेख गर्दै संविधानको कार्यान्वयनको लागि सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा पनि जोड दिए। उनले भने,‘हामीले संविधान राम्रो बनाएका छौं । तुलनात्मक रुपमा यो संविधान राम्रो बनाएका छौं । जनक्रान्तिका उपलब्धिलाई संविधानमार्फत संस्थागत गरेका छौं । संविधानको रक्षा सबैले गर्नुपर्छ । मिडियाले पनि यो जिम्मेवारी पूरा गर्नुपर्छ । प्रेस स्वतन्त्रतालाई संविधानले राम्रो स्थान दिएको छ।’

उनले अहिलेपनि आफूहरुसामू चूनौति रहेको सुनाए । उनले भने,‘व्यापार घाटा झनै बढेको छ। विविध खालका आर्थिक समस्या सामना गर्नुपरेको छ । राजनीतिक रुपमा स्थिरता दिन सकिएन । यहाँभन्दा ठूलो दुःखद् कुरा केही पनि हुँदैन् । अब हामी जनताको अदालतमा खडा हुने स्थिति छ । अब प्राप्त हुने जनमतले अग्रगति र स्थिरतातर्फ लैजान मार्गदर्शन गर्छ । आउने निर्वाचनलाई शान्तिपूर्ण र निश्पक्ष ढंगले सम्पन्न गर्नुपर्छ ।’

 

गठबन्धनको ढंग पुगेन भने सम्बन्धित मित्रहरुले दुःख पाउनुहुन्छ : नेम्वाङ

नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी निर्वाचनमा गठबन्धन गर्दा संसदीय मूल्य र मान्यतालाई ध्यान दिनुपर्ने धारणा राखेका छन् ।
क्लबको २४औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिने क्रममा नेता नेम्वाङले यस्तो बताएका हुन् । उनले भने,‘हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको छ । यो निर्वाचन प्रणालीमा अपवादमा बहुमत आउँछ । आखिरमा गठबन्धन त गर्नैपर्छ। तर, त्यो मूल्य र मान्यताको आधामा हुनुपर्छ । गठबन्धनको ढंग पुगेन भने सम्बन्धित मित्रहरुले दुःख पाउनुहुन्छ।’

उनले क्लबले आगामी निर्वाचनको हकमा पनि सक्रिय भूमिका खेलोस भन्ने सुझाव दिए । उनले अहिलेको संविधान सम्झौतको दस्तावेज भएको उल्लेख गरे । उनले भने,‘यो संविधान सम्झौताको दस्तावेज हो । समझदारीको दस्तावेज हो। यसलाई कार्यान्वयन गर्दै अघि बढ्नुको कुनै विकल्प छैन् । जनतालाई सार्वभौमसम्पन्न बनायौं । जनताको मन जितौं, जनताको आर्शिवाद लिन सकौं। अब परिवर्तनको लागि आन्दोलन गर्नुपर्दैन् । जनताको मन जितेर संसद्मा पुगेर संविधान संशोधन गर्न सकिन्छ। जनतालाई अनुभुत गर्नेगरि काम हुनुपर्छ ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भोलिबाट हुने भारत भ्रमणको सफलताको शुभकामना पनि दिए । उनले भने,‘प्रधानमन्त्रीको भारत भ्रमण हुँदैछ, उहाँको उपस्थितिमा उहाँलाई शुभयात्रा भनौं । शुभकामना भनौं भनेर पनि म आएको हुँ । उहाँको भारत भ्रमणको सफलताको कामना गर्दछु ।’

उनले रिपोर्टर्स क्लबले देशको ईतिहासमा धेरै महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराए । उनले भने,‘आउने दिनमा अझै सशक्त भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास छ। संविधान निर्माण गर्ने क्रममा क्लबले खेलेको भूमिकाको मलाई अहिलेपनि सम्झना छ, हामीले दुःख गरेर संविधान बनायौं । देशका सबै दल एक ठाउँमा उभिँदा संविधान बन्यो । दलहरुको बारेमा आलोचना र टिप्पणी हुन्छन्, कमिकमजोरीको बावजुद पनि देशलाई यो ठाउँमा ल्याउने काम दलहरुले गरेका छन् । अप्ठ्यारो पर्दा अहिलेपनि यीनै दलहरु एक ठाउँमा बस्नुपर्छ । नयाँ वर्षको सुरुवात हुन लागेको छ, एक ठाउँमा उभिएर मिलेर अगाडि बढ्नुपर्छ ।’

उनले आगामी बैशाख ३० गते निर्वाचन स्थानीय तहको निर्वाचन रहेको र दलहरु जनतासामू पुग्ने दिन आएको सुनाए । उनले भने,‘निर्वाचनको क्रममा जनताको बीचमा पुग्नुछ। जताको बीचमा हिसाबकिताब बुझाउनुपर्नेछ । त्यो दिन आउँदैछ। निरन्तर संघर्ष गरेर संविधान बनाएका छौं । त्यो कार्यान्वयनको लागि निरन्तर अघि बढ्ने प्रयास गर्नुपर्छ ।’

‘चुनाव महासंग्राम होइन महाउत्सवका रुपमा सम्पन्न गर्नेछौं’ : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी वर्ष हुने तीनै तहको चुनाव महासंग्राम नभई महाउत्सव हुने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै चुनावले देशलाई समृद्धी र स्थायित्वको दिशामा लाने भएकाले महाउत्सव हुने बताए ।

‘चुनाव महासंग्राम होइन महाउत्सवका रुपमा सम्पन्न गर्नेछौं,’ सञ्चारमन्त्री कार्कीले भने । उनले चुनावलाई स्वतन्त्र र भयरहित बनाउन सरकार गम्भीर भएको पनि बताए ।
नेपाली जनताको समृद्ध मुलुक बन्ने आकांक्षामा एकजुट भई एउटै संकल्पका साथ सबै रहनुपर्ने बताए । उनले प्रधानमन्त्री देउवाको भोलिबाट हुने भारत भ्रमणले सम्बन्धलाई अझ मजबुत बनाउने भन्दै सफलताको कामना पनि गरे ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालकी नेतृ तथा सांसद चन्दा चौधरीले महिलाहरु देशको नेतृत्व गर्न सक्षम रहेको सुनाईन् । उनले नेताहरुलाई पनि अब व्यक्तिगत र पार्टीभन्दा माथि उठेर देशको हितमा केन्द्रित हुन सुझाव दिईन् ।

उनले क्लबले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिन् । उनले भनिन्,‘म क्लबलाई धन्यवाद दिन चाहन्छु । तपाईँहरुको संस्था आज २४औं वर्षमा प्रवेश गरेको छ, यो लामो यात्रामा तपाईँहरुले धेरै नै मेहनत र संघर्ष गर्नुभयो, आज क्लब सबैको साझा मञ्चको रुपमा स्थापित छ । क्लबका सभापति ऋषिजीको सक्रियतापूर्वक भूमिकाको कारणले आज क्लबले यो गरिमा र उचाईँ हासिल गरेको हो । म धेरै खुशी छु । क्लबले सत्य र निश्पक्ष भूमिका खेलेको छ। महिलाहरुको एजेण्डालाई पनि प्राथमिकता दिएको छ।’

उनले नेपाल प्राकृतिक रुपले सम्पन्न भएपनि किन सधैं गरिबीको चपेटमा परेको भनेर प्रश्न गरिन् । उनले भनिन्,‘हाम्रो देश कहिलेसम्म गरिब हुने ? अब व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर देशको नेतृत्वमा बसेकाहरुले काम गर्नुपर्छ । यस्तो सोच्यौं भने देश बन्छ, महिला देश चलाउन सक्षम छन् । महिलालाई मेयर किन नदिने ?’

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पनि क्लबलाई शुभकामामना दिए । उनले भने,‘क्लब र यसका नेतृत्व ऋषि धमलाको क्रियाशिलतालाई नेपाली प्रेस जगतले अनुसरण गर्नेछ । क्लबले रिपोर्टरहरुलाई संगठित गर्दै राम्रो काम गरेको छ । महासंघको तर्फबाट म क्लबलाई धेरै धेरै बधाई र शुभकामना भन्न चाहन्छु । क्लब अहिले सबैको साझा प्लेटमर्फमको रुपमा स्थापित भएको छ । नागरिकलाई सूसुचित बनाउने काम क्लबले गरेको छ ।’

क्लबका सभापति ऋषि धमलाले प्रधानमन्त्री शेरबहादुर देउवा सफल र कुशल नेता भएको भन्दै आगामी दिनमा उहाँकै नेतृत्वमा देश समृद्धिको यात्रामा अघि बढ्ने विश्वास दिलाए । उनले भने,‘सम्मानीय प्रधानमन्त्रीज्यू यो देशको राजनेता हो । अहिले प्रचण्ड र देउवाबीच सहयात्रा सुरु भएको छ । तपाईँहरुबीच सहमति र सहकार्य होस। यो देशको आवश्यकत्ता हो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नको लागि यहाँहरुको सक्रिय भूमिका होस ।’ उनले सबै दलहरुबीच सहमति, सहकार्य र एकता आजपनि आवश्यक रहेको भन्दै यो मर्मलाई आत्मसात् गरेर अघि बढ्न दलका नेताहरुलाई आग्रह गरे ।

धमलाले प्रधानमन्त्री देउवाको भोलिबाट सुरु हुने भारत भ्रमणको पनि सफलताको कामना गरे । उनले भने,‘प्रधानमन्त्री भारत भ्रमण सफल होस । अहिले नेपालको ध्यान उहाँको भारत भ्रमणतर्फ खिचिएको छ। उहाँ सबै मोर्चामा सफल प्रधानमन्त्री हो । उहाँले एमसीसी पास गराउनुभयो । भर्खरै चिनियाँ विदेशमन्त्री नेपाल आएर जानुभयो, अब उहाँ आँफै भारत भ्रमणमा अब जाँदै हुनुहुन्छ । म भन्छु प्रधानमन्त्री देउवा यो देशको कुशल एवम् सक्षम नेता हुनुुन्छ । कोभिड नियन्त्रण गर्न प्रधानमन्त्री सफल हुनुभयो । अब देशको मुहार परिवर्तन गर्नुहोस । तपाईँ सफल प्रधानमन्त्री हो, अब देशलाई समृद्ध बनाउनुपर्छ । ०४८ सालमा गृहमन्त्री हुँदा काम गरेकोजस्तो साहस, उर्जा अहिलेपनि यथावत छ।’

धमलाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई देशलाई निकास दिनसक्ने नेताको रुपमा चित्रण गरे । उनले पछिल्लो समय एमसीसीको सवालमा पनि प्रचण्डले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । उनले क्लब सबैको साझा मञ्चको रुपमा स्थापित भएको भन्दै आगामी दिनमा पनि यो भूमिकालाई निरन्तरता दिने बताए । उनले भने,‘हामीले सबैलाई समेटेर अघि बढेका छौं ।’ उक्त अवसरमा प्र्रधानमन्त्री देउवाले क्लबको संस्थापक स्मारिका ‘महासंग्राम : २०७९’ पनि विमोचन गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 

 



प्रतिक्रिया दिनुहोस्