Logo

नेपाल र भारतबीचका समस्या कार्पेटमुनि लुकाएर नराखौंः दीपकुमार उपाध्याय



काठमाडौं, १८ चैत । कूटनीतिज्ञ दीपकुमार उपाध्यायले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग सीमा विवाद र पानीको बहुउपयोगबारे स्पष्ट कुरा राख्नुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कूटनीतिज्ञ उपाध्यायले भने, “नेपाल र भारतको सम्बन्धमा इतिहास, संस्कृति र सभ्यताको विरासत छ । दुई देशबीचको सम्बन्धमा रहेका अब समस्या कार्पेटमुनि लुकाएर राख्नु आवश्यक छैन । एक अर्कालाई दोषारोपण गरेर पनि काम छैन । त्यसैले अब परिणाम या समाधानको बाटोमा जानुको विकल्प छैन । खानेपानी, सिँचाइ, ऊर्जाजस्ता पानीको बहुउपयोग, सीमा विवाद, डुबान, पञ्चेश्वर, पेट्रोलियम, मलखाद, हुलाकी बाटो, ईपीजीबारेमा खुलेर कुरा गर्नु आवश्यक छ ।”
नेपाल भारत सम्बन्धमा देखिएका समस्याको दीर्घकालीन समाधान खोज्नु दुवै देशको हितमा रहेको उनले औंल्याए । उपाध्यायले भने, “हामी राम्रो गर्नुपर्छ भन्छौं, तर कसरी राम्रो हुन्छ भन्दैनौं । राष्ट्रको हित वा स्वार्थ दुइटा हुँदैन । केपी ओलीको सरकार हुँदा धेरै अपारदर्शी कुरा भए । गुप्तचर एजेन्सीका प्रमुखसँगका अन्धकारमा के कुरा भयो ? संस्थागत मेमोरीमा छैन । दुई देशबीचको सम्बन्धमा रहेका जटिलताको गाँठो फुकाउने अवसर यही हो ।”



प्रतिक्रिया दिनुहोस्