Logo

जनप्रतिनिधिको कामको मूल्याङ्कन जनताले गर्छन्ः श्रममन्त्री श्रेष्ठ



दमौली, १९ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनप्रतिनिधिले गर्ने कामको मूल्याङ्कन जनताले चुनावबाट गर्ने बताएका छन् ।

तनहुँको व्यास नगरपालिका–११ मा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले जनताको मन छुन सक्ने काम गर्न सकिए चुनावबाट मूल्याङ्कन हुने बताएका हुन् ।

श्रममन्त्री श्रेष्ठले राजनीति भनेको जनताको सेवाका लागि भएको बताए । उनले भने, “जनताको कामलाई प्राथमिकता दिनुपर्छ, जनताले चुनावबाट त्यसको मूल्याङ्कन गर्छन् ।” मन्त्री श्रेष्ठले आफू जहिल्यैपनि जनताकै पक्षमा रहेको उल्लेख गर्दै तनहुँको विकासका लागि पक्ष विपक्ष, यो पार्टी वा त्यो पार्टीको नभनी काम गरिरहेको छु, विकासमा राजनीति नगरौँ ।” मन्त्री श्रेष्ठले स्थानीय तहको निर्वाचन नजिकिँदै आइरहेकाले निर्वाचनको तयारीमा लाग्न पनि आग्रह गरे ।

वर्तमान सरकार देशमा सुशासन कायम र विकास गर्नका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले आगामी निर्वाचनसम्म वर्तमान सरकारमा रहेका दलबीच गठबन्धन गरेर जाने सहमति भएको बताए । “गठबन्धनले देशलाई निकास दिन्छ, यसमा सबै प्रतिबद्ध बनौ,” उनले भने । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot