Logo

प्रसूति गृहले ६० लाखको अत्याधुनिक एम्बुलेन्स किन्न पाउने



काठमाडौं, २० चैत्र । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)ले ६० लाखको अत्याधुनिक एम्बुलेन्स किन्न पाउने भएको छ ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले प्रसूति गृहका निर्देशक डा.अमिर बाबु श्रेष्ठलाई आज भेटेर ६० लाख मूल्य पर्ने एम्बुलेन्स खरिदका लागि बजेट उपलब्ध गराएको जानकारी गराएका छन् । उक्त बजेटबाट प्रसूति गृहलाई आवश्यक अत्याधुनिक एम्बुलेन्स खरिद गर्न मन्त्री श्रेष्ठको आग्रह छ ।

उनले काठमाडौं महानगरपालिका वडा नम्बर ११ थापाथलीस्थित प्रसूति गृहलाई प्रदेश पूर्वाधार, स्वास्थ्य प्रबर्द्धन तथा कोभिड पुर्नस्थापना साझेदारी कार्यक्रममार्फत एम्बुलेन्स किन्न उक्त रकम दिएका हुन् ।

उक्त क्षेत्रको प्रदेश सभा सदस्य समेत रहेका मन्त्री श्रेष्ठले नेपाली कांग्रेसका पूर्व उपसभापति प्रकाशमान सिंहको आग्रह अनुसार प्रसूति गृहमा एम्बुलेन्स खरिद गर्न ६० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए । काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकार, वडा सदस्यद्वय सरोज कुमार मुल्मी र दिपेश राउत क्षेत्रीका साथमा प्रसूति गृह पुगेका सांसद श्रेष्ठले प्रसूति गृहका निर्देशक डा. अमिर बाबुलाई उक्त रकमबाट एम्बुलेन्स खरिद गर्न अनुरोध गरेका छन् ।

प्रसूति गृहका निर्देशक डा.श्रेष्ठले पनि अस्पतालाई एम्बुलेन्स आवश्यक रहेको भन्दै एम्बुलेन्स किन्न सांसदले पैसा दिँदा उत्साहित भएको प्रतिक्रिया दिए । कोरोनाकालमा अक्सिजन अभाव हुँदा सिभिल अस्पताललाई अक्सिजन सिलिन्डरसहित डेढ करोडको स्वास्थ्य सामग्री प्रदान गरेका मन्त्री श्रेष्ठले प्रसूति गृहलाई एम्बुलेन्स खरिदका लागि पैसा दिएका हुन् । प्रदेश सरकारबाट प्रसूति गृहलाई आवश्यक पर्ने थप बजेट उपलब्ध गराउने उनको प्रतिबद्धता रहेको छ ।



प्रतिक्रिया दिनुहोस्