Logo

राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिवलाई ऋषि धमलाको हमलाः “सार्वजनिक यातायातका साधनमा भाडा बढाएर जनतालाई महँगीको मारमा पार्नुभयो होइन ?”



काठमाडौं, २१ चैत । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थमा साउनदेखि चैतसम्म प्रति लिटर ३४ रुपियाँ मूल्यवृद्धि भएकाले सार्वजनिक यातायातको भाडा समायोजन गर्नुपरेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासचिव सिटौलाले भने, “पेट्रोलियम पदार्थमा नौ महिनासम्म भएको मूल्यवृद्धि यातायात व्यवसायीले धान्नै नसक्ने स्थिति थियो । हामीले दिएका विकल्पमा सरकारले काम नगरेपछि मन्त्रीस्तरीय निर्णयबाट ३५ प्रतिशत भाडा समायोजन गर्नुपर्ने बाध्यता भयो ।”
वार्षिक रुपमा नेपाल आयल निगमले सरकारलाई तिर्नुपर्ने एक खर्ब रुपियाँ आयल निगमलाई कर छुट दिने, विलासिताको रातो प्लेटलाई रोक्ने, जोर र विजोर लागू गर्ने र सार्वजनिक यातायातलाई सहुलियत दिने विकल्प दिएकामा सरकारले कार्यान्वयन नगरेको उनको आरोप छ ।
सार्वजनिक यातायातका साधनमा ४६ प्रतिशत भाडा बढाएर जनतालाई महँगीको मारमा पार्नुभयो होइन भन्ने पत्रकार धमलाको प्रश्नमा सिटौलाले भने, “हो, एक महिनाभित्रै दुई पटक पेट्रोलियम पदार्थको वृद्धि भएको छ । यही अवस्थामा रह्यो भने कल्पनाबाहिरको अवस्था आउँछ । मूल्यवृद्धि धेरै ठूलो समस्या हो । यसले सबैलाई मर्का पर्छ । हामी पनि जनता हौं । यातायात क्षेत्रमा नेपाली जनताको ठूलो लगानी छ । नेपाल सरकारले स्वचालित प्रणाली वैज्ञानिक भाडादर लागू गरेमा पेट्रोलियम पदार्थमा मूल्य घटबढ हुनासाथ भाडा समायोजन गर्न सकिन्छ ।”
उनले सार्वजनिक यातायात क्षेत्रलाई तोकिएको भन्दा एक रुपियाँ पनि बढी भाडा नलिन अनुरोध पनि गरे । सिटौलाले थपे, “ट्याक्सीमा पनि समस्या छ । अहिलेसम्म गण्डकी प्रदेशले वैज्ञानिक भाडा समायोजन गरेको छ । गण्डकी प्रदेशमा मात्र १०, १२ हजार ट्याक्सी छन् । नापतौल विभागले अहिलेसम्म मिटर मेसिन दिन सकेको छैन । म तोकिएको भन्दा बढी भाढा लिन सम्बन्धित सबैलाई अनुरोध र निर्देशन दिन चाहन्छु ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot