Logo

‘‘भारतभन्दा पहिले नेपाल हिन्दू राष्ट्र बन्छ’’ (भिडियो रिपोर्ट)



काठमाडौं, २१ चैत्र । भारतभन्दा पहिले नेपाल हिन्दू राष्ट्र घोषणा हुने भन्दै भारतको एक मिडियाले रिपोर्ट बनाएको छ । सुदर्शन टीभीले भारतमा भन्दा पहिला नेपालमा हिन्दूराष्ट्र घोषणा हुने भन्दै भिडियो रिपोर्ट बनाएको हो ।

सुदर्शन टीभीका सम्पादक मुकेश कुमारले प्रस्तुत गरेको रिपोर्टमा चीनको दबाबमा नेपाललाई माओवादीले धर्मनीरपेक्ष घोषणा गरेको उल्लेख गरेका छन् । सन् २०१५ मा संविधान घोषणा भएपछि नेपाल धर्मनीरपेक्ष घोषणा भएको भनिएको छ ।

रिपोर्टमा सीमा जागरण मञ्चमा महेश अग्रवालले अबको पाँच वर्षपछि नेपाल हिन्दूराष्ट्र घोषणा हुने ठोकुवा गरे । उनले भने,‘नेपालमा अहिलेसम्म राइट विङ हिन्दूराष्ट्रका लागि तयार भएको छैन, पाँच वर्ष पर्खनुपर्छ , त्यसपछि नेपाल हिन्दूराष्ट्र बन्छ ।’ नेपाली काँग्रेस पेन्डुलम जसरी कहिले लेफ्ट त कहिले राइट विङमा गइरहेको भन्दै अर्को राइट शक्ति खडा भएर नेपाललाई हिन्दू राष्ट्र बनाउन सक्ने ठोकुवा गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गरी हिन्दूहरुको तीर्थस्थल काशी विश्वनाथको दर्शन गरेर फर्किएलगत्तै रिपोर्ट बनाइएको छ । रिपोर्टमा हिन्दू राष्ट्र बन्ने आधारहरुबारे व्याख्या समेत गरिएको छ ।

रिपोर्टमा पर्यटनमन्त्री प्रेम आलेले नेपाललाई हिन्दू राष्ट्र बनाउने अभिव्यक्ति दिएको विषय उल्लेख गरिएको छ । वल्ड हिन्दू फेडरेशनको सम्मेलनमा मन्त्री आलेले नेपालमा ८० प्रतिशत भन्दा बढी हिन्दू भएको भन्दै जनमतसंग्रहबाट हिन्दू राष्ट्र घोषणा हुने बताएको रिपोर्टमा भनिएको छ ।

मुकेश कुमारले धर्मनीरपेक्ष बनाउनेको भित्री नियत के थियो ? भनी प्रश्नहरु पनि उठाएका छन् । रिपोर्टमा सीमा जागरण मञ्चका महेश अग्रवालले नेपालको पहाडी भेगमा बस्ने जनता निकै सोझासाझा भएको भनेका छन् । उनले पहाडका सोझासाझा जनताको धर्म परिवर्तन गराउने क्रम तिव्र पारिएको बताएका छन् । नेपालको नागरिकता कानूनले मुसलमानहरुलाई सजिलै नागरिकता दिने परिस्थिति बनाएको र त्यसको दुरुपयोग गरिएको बताएका छन् ।

विश्व हिन्दू परिषद नेपालका जितेन्द्र सिंहले हिन्दू राष्ट्रले लोकतन्त्र खतरामा पर्छ भन्ने भ्रम फैलाउने विषय मात्र भएको तर्क गरेका छन् । उनले लोकतन्त्र हिन्दू राष्ट्रबाट नै मजबुत हुने बताए । नेपालमा इशाईकरण तिव्र भएको भन्दै सिंहले भनेका छन्,‘नेपालमा अत्याधिक इशाइकरण भइरहेको छ, यो बरु लोकतन्त्रका लागि खतरा हो ।’

योजनावद्ध तरिकाले रकम दिएर हिन्दूविरोधी व्याख्याहरु बनाइएको जितेन्द्र सिंहको आरोप छ ।

सीमा जागरण मञ्चमा अग्रवालले विश्वमा कुनै पनि देश धर्मनीरपेक्ष नभएको ठोकुवा गरे । यो भन्ने कुरा मात्र भएको तर्क गर्दै उनले भने,‘संविधानमा नै धर्मनीरपेक्ष लेख्ने भारत र नेपालबाहेक कुनै देश देखाइदिनुहोस् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot