Logo

हाम्रो सहकार्य कांग्रेससँग हो, गुट-उपगुटसँग होइनः हरिबोल गजुरेल



काठमाडौं, २२ चैत । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले भरतपुर महानगरको मेयरमा नेपाली कांग्रेसले दाबी गर्नुलाई अन्यथा रुपमा नलिएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गजुरेलले भने, “गठबन्धन गर्ने भनेपछि कुनै ठाउँमा दाबी गर्नुलाई नराम्रो मान्दैनौं । भरतपुर महानगर नछाड्ने निर्णय कांग्रेसले गरेको छ, कतिपय ठाउँ नछाड्ने निर्णय नेकपा (माओवादी केन्द्र) ले पनि गर्छ । सबैले आफ्नो शक्तिका आधारमा माग्ने हो । उम्मेदवारी टुंग्याउन त्यति सजिलो पनि छैन । तर छलफल र संवाद भएपछि नै कहाँ कसरी लिने भन्ने टुंगो लाग्ने हो ।”
आफ्नो पार्टीले विशिष्ट परिस्थितिबाहेक नयाँ उम्मेदवार चयन गर्ने नीति लिने पनि गजुरेलले स्पष्ट पारे । उनले भने, “एकाध ठाउँमा केही प्रतिशत पुरानो उम्मेदवारी दोहोरिन सक्छ । तर भरतपुर हामीले जितेका हौं । राम्रो काम गरेका छौं । त्यसै छाड्ने कुरा आउँदैन । गठबन्धन गर्ने कि नगर्ने कांग्रेसको आन्तरिक मामिला हो । हाम्रो सहकार्य गुट उपगुटसँग होइन, कांग्रेससँग हुन्छ ।”
पार्टीले जथाभावी उम्मेदवार नतोक्ने पनि उनले बताए । उनले भने, “जथाभावी उम्मेदवार तोक्दा मत अन्यत्र जान सक्छ । हिजोको माओवादी पार्टी सोचेर व्यवहार गर्नु पनि भएन । माओवादीको जनाधार विस्तार भएको कुरालाई आत्मसात् गरौं । अब ठोस छलफलको समय आइसक्यो ।”
केपी ओलीको नेतृत्व रहेसम्म नेकपा एमालेसँग चुनावी सहकार्य नहुने पनि गजुरेलले बताए ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot