Logo

खाद्यान्न र औषधि समेत किन्न नसकिने अवस्था आउन सक्छः पूर्व गभर्नर



काठमाडौं, २२ चैत । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले अर्थतन्त्र ओरालो लाग्दै जाँदा भोलि खाद्यान्न र औषधि समेत किन्न नसकिने अवस्था आउन सक्ने औंल्याएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अर्थविद् क्षेत्रीले भने, “हाम्रो अर्थतन्त्र ओरालो लाग्नुमा हाम्रै नेताहरुको जिम्मेवारी छ । उनीहरुले आफू, आफ्ना कार्यकर्ता र दलभन्दा बाहिर कहिल्यै सोचेनन् । छाडा किसिमले चल्दाखेरि विदेशी मुद्राको सञ्चितिमा ह्रास आयो । यस्तै अवस्था हुने हो भने भोलि औषधि र खाद्यान्न पनि किन्न नसक्ने अवस्था आउन सक्छ ।”
एलसी खोल्न नदिने, विलासिताको वस्तु आयातमा रोक लगाउनु केन्द्रीय बैंकको पूर्व सतर्कतास्वरुपका कदम भएको उनले औंल्याए । क्षेत्रीले भने, “सरकार कमजोर रहेका बेला र चुनावको मुखमा जनतालाई अप्रिय लाग्ने कुरा गर्न पेट्रोलियम व्यवसायीले बाध्य पारे । भोलि औषधि व्यवसायीले सरकारलाई त्यसै गरी लौरो तेर्साउने काम गर्न सक्छन् । यतिबेला हामीले नचाहिँदो किसिमका बस्तु उपभोग गर्ने कुरामा सचेत रहनुपर्छ । कुनै व्यक्तिलाई तीनवटा मोबाइल आवश्यक हो कि होइन ? त्यो पनि ख्याल गर्नुपर्छ ।”
नेताहरुले मुलुक र जनताको भलो हुने काम गर्न पनि उनले सुझाव दिए । क्षेत्रीले थपे, “कृपया अब भर्याङमुनि बोरामा पैसा कोचेर चुनावमा निकाल्ने काम बन्द गरिदिनोस् । मुलुक र जनतालाई दीर्घकालीन खराब हुने काम नगरिदिनोस् । जनताले कुनामा बसेर तपाईंहरुलाई हेरिरहेका छन् ।”



प्रतिक्रिया दिनुहोस्