Logo

आइजीपीका लागि दौडधूप तिव्र, कस्ले मार्ला बाजी ?



काठमाडौं, २२ चैत्र । नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री १९ वैशाखबाट अवकाश पाउँदैछन् । उनले अवकाश अगाडि नै घर बिदा बसेर भावी आइजीपीको मार्गमा वरियतामा अगाडि रहेकालाई सहज बनाउने प्रयास थालेपनि सफल नहुने भएको छ । सरकारले क्षेत्रीलाई बिदामा नबस्न भनेको बुझिएको छ । यसलाई चुनाव नजिक आएको कारण बनाइएको छ ।

क्षेत्री बिदामा बसेपनि उनको ब्याची चार एआइजीहरु छन् । हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र वसन्त पन्तले बिदामा नबसे उनीहरुमध्येबाटै केही दिन निमित्त आइजीपी हुनेछन् । चार जना एआइजी १९ वैशाखमै अवकाश पाउनेछन् ।

१९ वैशाख अगावै सरकारले आइजीपीको टुंगो लगाउनेछ । जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्ना मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ भन्ने व्यवस्था प्रहरी नियमावलीमा गरिएको छ ।

नियमावलीमा जेष्ठतालाई अगाडि राखिएको छ । तर, कार्यकुशलता, कार्यक्षमतालगायतका विषय पनि समावेश छन् । यस आधारमा वरियतामा पहिलो नम्बरमा भएका नै आइजीपी हुन्छन् भन्ने छ्रन । विगतमा नवराज सिलवाल वरियतामा अगाडि भएपनि प्रकाश अर्यालले बाजी मारेका थिए ।
यसपटक पनि वरियतामा पहिलो नम्बरमा रहेका विश्वराज पोखरेलमाथि चुनौती बढेको छ । उनका ब्याची सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुक पनि प्रतिष्पर्धामा छन् । चारैजना एआइजी दरबन्दी थप गरी बढुवा पाएकाहरु हुन् ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा विश्वराज पोखरेल र सहकुल थापाले एआइजीको दरबन्दी थप गरी बढुवा पाएका थिए । पोखरेलको स्थायी घर पूर्व हो । थापा भक्तपुरका रैथाने हुन् । उनीहरुले ओली प्रधानमन्त्री हुँदाको लाभ लिएको चर्चा निकै चल्यो ।

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सुदूरपश्चिम स्थायी घर भएका वसन्त पन्त, धीरज सिंह र रवीन्द्र धानुकले बढुवा पाउन सके । यसकारण पनि धीरज सिंह आइजीपी बन्ने चर्चा चल्न थालेको छ ।

धीरज सिंहलाई देउवा शक्तिमा आएपछि सीआइबीमा लगिएको थियो । उनलाई आइजीपीमा बढाउन दरबन्दी सृजना गरी बढुवा गरिएको चर्चा छ । एआइजीमा बढुवा पछि उनलाई सीआइबीको नेतृत्व एआइजीले नै गर्ने गरी पदस्थापन गरिएको छ ।

आइजीपीको दौडका लागि विश्वराज पोखरेल, सहकुल थापा र धीरज सिंहको सक्रियता बढेको छ । पोखरेल र थापाले ओलीको कार्यकालमा लाभ लिएको सूचनाहरु बालुवाटारमा पुगिरहेको छ । विगतमा अपराध अनुसन्धान, प्रदेश २ र सीआइबीमा रहेको आधारमा सिंहको कार्यक्षमताको अंक बढी रहने पर्याप्त अवस्थाहरु रहेको बुझिएको छ । चारैजना एआइजीहरु एउटै ब्याची भएको र शक्तिमा समेत पहुँच बनाएकाले देउवाको साथ जस्लाई मिल्छ उही आइजीपी हुने निश्चितप्रायः छ । भेगीय हिसाबले देउवाले सिंहलाई नै अगाडि बढाउन सक्ने चर्चा प्रहरीवृत्तमा चलेको छ । देउवा आफ्नो क्षेत्रकालाई बढी संरक्षण र साथ दिने स्वभावका भएकाले पनि त्यस्तो चर्चा चलेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot