काठमाडौं, २२ चैत्र । मध्यपुर थिमी नगरपालिकाले ऐतिहासिक पर्व ‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान सुरु गरेको छ ।
मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुर ठिमीमा मनाइने यो जात्रा अमूर्त कला भएको उल्लेख गर्दै यसलाई विश्व सम्पदा सूचीमा समावेश हुने गरी अभियान सुरु गरिएको जानकारी दिएका हुन् ।

मंगलबार काठमाडौं भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी उनले त्यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि आगामी बैशाख ३० गतेदेखि बैशाख २ गतेसम्म हुने सो जात्राको प्रचारप्रसारको काममा सहयोग गरिदिन पनि सञ्चारकर्मीहरूलाई आग्रह गरे ।
उनले काठमाडौं उपत्यकाका सबै नगरपालिकाका मेयरहरुलाई सो जात्रामा एकसाथ सहभागी गराउन लागिएको पनि बताए ।
सम्बन्धित सबै पक्षले यस जात्राको प्रवद्र्धनमा सहयोग गरे विश्व सम्पदा सूचीमा समावेश गराउन सहज हुने मेयर श्रेष्ठको भनाइ थियो ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यका भित्रका सबै जात्राहरूको ऐतिहासिक महत्वबारे नयाँ पिँढीलाई जानकारी दिन पनि सबै जात्राहरूको प्रवद्र्धन गर्ने अभियान संचालन गर्नुपर्ने अवस्था आएको बताए ।
उनले ऐतिहासिक तथा धार्मिक सम्पदाहरूको प्रवर्द्धनले पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।
कार्यक्रममा बिस्का जात्राको फोटोसमेत प्रदर्शनी गरिएको थियो ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम




प्रतिक्रिया