Logo

प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या प्रकरणमा यी २० जनाविरुद्ध कर्तव्य ज्यानमा अनुसन्धान



विराटनगर, २२ चैत्र । मोरङको लेटाङमा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या प्रकरणमा प्रहरीले ६३ जनामाथि अनुसन्धान अगाडि बढाएको छ । मोरङ प्रहरीले २० जना विरुद्ध कर्तव्य ज्यान र ४३ जना विरुद्ध अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको हो ।

चैत ६ गते मोरङको लेटाङमा हिंसात्मक झडपमा प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको हत्या भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक महिलासहित २० जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका–५ का ४८ वर्षीय चन्द्र तामाङ भन्ने चन्द्रकान्ता लामा, सोही ठाउँका २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, ६ का १८ वर्षीय बलराम भन्ने पालाराम राई, सोही वडाका १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ, लेटाङ–५ का २३ वर्षीय प्रदीप राई, सोही वडाकी १८ वर्षीय निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी, १९ वर्षीय सञ्जय मगर रहेका छन् ।

त्यस्तै मिक्लाजुङ गाउँपालिका–२ घर भई लेटाङ–५ का २० वर्षीय कृष्ण विक, लेटाङ–५ कै सञ्जीव प्रधान, प्रनिस कट्टेल, झविन भन्ने जस्वीन पाख्रिन, सनिल लिम्बू, प्रल्हाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ–६ का श्रवण यादवलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।

यस्तै सञ्जोग राईसहित ४२ जना विरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

पक्राउ परेकामध्ये १० जना विद्यार्थी छन् । अब बढीमा सात दिनभित्र सबै अनुसन्धान पूरा गरेर मुद्दा दर्ताको प्रक्रिया अगाडि बढाउने तयारी गरेको मोरङ प्रहरीले जनाएको छ ।

शिक्षकले छात्रामाथि यौनजन्य र्दुव्यवहार गरेको आरोपपछि चैत ६ गते मोरङको लेटाङस्थित शिक्षा विकास माध्यमिक विद्यालयमा हिंसा भड्किएको थियो । घटनामा धारिलो हतियार प्रहार गरी महिला प्रहरी उर्मिलाको हत्या भएको थियो ।

शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रालाई होलीका दिन यौनजन्य र्दुव्यवहार गरेको आरोपपछि विद्यार्थी र स्थानीयले प्रदर्शन गरेका थिए ।

हिंसा भड्किएपछि प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको थियो । एक दर्जनभन्दा बढी अश्रुग्यास प्रहार भएको थियो । झडपमा २९ प्रहरी र केही शिक्षक घाइते भएका थिए ।

यसैगरी, घटना साम्य भएसँगै शिक्षा विकास माविमा पठन–पाठनसमेत सुचारु भएको छ । कुल ७ सय ४१ जना विद्यार्थी अध्ययनरत विद्यालयमा कम संख्यामा विद्यार्थी उपस्थित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्