Logo

प्रचण्डले ‘मलेखुमा सँगै माछा खाने’ भन्दै रोक्दा रोक्दै एमाले पसेका पित्तबहादुर एकै रातमा माओवादी फर्किए



काठमाडौं, २२ चैत्र । धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले दुई दिनबीच दुई पटक पार्टी परिवर्तन गरेका छन् । त्यसो त उनले विगतमा पनि पार्टी परिवर्तन गरेका थिए । एमालेबाट विगतमा माओवादीमा प्रवेश गरेका उनी फेरि एमालेमै गए । तर, त्यो एक रातभन्दा बढी टिकेन ।

उनी सोमबार विहानसम्म नेकपा माओवादी केन्द्रमा थिए । दिउँसो नेकपा एमालेमा प्रवेश गरे । मङ्गलबार दिउँसो फेरि नेकपा माओवादी केन्द्रमा फर्किए ।

सोमबार बालकोट पुगेर पित्तबहादुरले एमालेको सदस्यता लिएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी सदस्यता दिएका थिए । पित्तबहादुर एमालेमा पसेपछि माओवादी केन्द्रका नेताहरुले प्रचण्डसँग सम्पर्क गराएको बुझिएको छ । प्रचण्डले खुमलटार डाकेपछि उनी गएका थिए ।

प्रचण्डले सम्झाएपछि पित्तबहादुरले विज्ञप्ति जारी गरेर आत्मालोचना सहित माओवादीमै रहेको बताएका थिए । उनले क्षणिक आक्रोश र आवेगमा आई कदम चालेको भन्दै गल्ती कमजोरी स्वीकारेका छन् ।

डल्लोकोटी धादिङका १३ पालिकामध्ये माओवादीबाट निर्वाचित एकमात्र प्रमुख हुन् । उनलाई एमालेमा त्रिाउन डा. पुष्प कँडेल, भूमि त्रिपाठीलगायत लागेका थिए । डल्लाकोटीलाई हिजो नै रोक्न प्रचण्डले फोन गरेका थिए ।

प्रचण्डले मलेखु आउन लागेको र सँगै बसेर माछा खाने कुरा गरेका थिए । तर, माछा खुवाउने राजनीतिक रुपमा भने अलग बाटो तय भएको जवाफ दिएका थिए । प्रचण्डले धेरै प्रयास गरेपनि रोकिएनन् । प्रचण्डले मङ्गलबार विहान फेरि सम्झाएपछि डल्लाकोटी बालकोट पुगे । त्यसपछि उनी विश्वस्त भई फर्किएर माओवादीमै रहेको विज्ञप्ति जारी गर्न पुगे ।

माओवादी सशस्त्र द्वन्द्व हुँदा एमालेमा थिए । शान्ति प्रक्रियामा आएपछि माओवादीमा पसेका थिए । उनी एक दिनका लागि एमाले बनेर फेरि माओवादीमै फर्किए ।



प्रतिक्रिया दिनुहोस्