Logo

अपाङ्गता सम्बन्धी कार्यविधिलाई परिमार्जन गरेर कार्यान्वयन गर्छु : मन्त्री रेग्मी



काठमाडौं, २३ चैत्र । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले अपाङ्गता सम्बन्धी कार्यविधिलाई परिमार्जन गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । नेपाल अपाङ्ग पुनर्स्थापना केन्द्रले काठमान्डौमामा गरेको कार्यक्रममा मन्त्री रेग्मीले अपाङ्गता भएका समुदायको हकहितको लागि रोकिएर बसेका अपाङ्गता सम्बन्धी कार्यविधि यथाशीघ्र परिमार्जित गरेर कार्यान्वयन गर्न पहल भइरहेको बताइन् ।

मन्त्री रेग्मीले अहिले रातो कार्ड भएकाले मात्रै भत्ता पाउने व्यवस्था भएकोले त्यसलाई परिमार्जन गरेर निलो वा अरू कार्ड भएकालाई पनि भत्ता दिलाउने प्रयासमा आफू रहेको बताइन् । अपाङ्गता भएका विभिन्न व्यक्तिहरूलाई सामग्रीहरू वितरण गर्नुहुँदै मन्त्री रेग्मीले भनिन्,“एउटा हात नभएको व्यक्तिले कसरी गरी खाने ? अपाङ्गताको श्रेणीमा मात्र राखेर भएन गरेर खाने व्यवस्था पनि त हुन प¥यो ।”

अपाङ्ग भएका समुदायको हकहितको लागि आफू सधैँ अग्र पङ्क्तिमा रहेको बताउँदै मन्त्री रेग्मीले आगामी बजेटमा अपाङ्गता क्षेत्रलाई लाई विशेष प्राथमिकतामा राखिएको समेत बताइन् ।

“राज्यको श्रोत साधनले नभ्याएर पनि होला तर अपाङ्गता भएका समुदायलाई गाँस काटेर भए पनि प्राथमिकता दिन पर्छ” उनले भनिन् “आफ्नो अधिकारको लागि सबैले सशक्त रूपमा आवाज उठाउन जरुरी छ ।

नेपाल अपाङ्ग पुनर्स्थापना केन्द्रले अपाङ्गता भएका विभिन्न व्यक्तिहरूलाई व्हिल चेयर, कमोड चेयर, हट ब्याग ,सेनिटरि प्याड, बैसाखी लगायतका सामग्री हरू वितरण गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot