Logo

नागार्जुन नगरपालिकाको मेयरमा राजन कोइरालाद्वारा स्वतन्त्र उम्मेदवारीको घोषणा



काठमान्डौ, २४ चैत्र । नागार्जुन नगरपालिकाको मेयर पदका लागि राजन कोइरालाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कोइरालाले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले कसैको निन्दा वा विरोध गर्नभन्दा पनि पुरानो काम गर्ने शैली र प्रक्रियामा हेरफेर गरेर धेरै परिवर्तन सम्भव हुने बताए । उनले पुरानो शैलीलाई परिवर्तन गर्न प्रक्रिया बदल्ने उद्धेश्यका साथ काम गरेर देखाउन सक्ने क्षमता आफुमा भएकाले उम्मेदवारी दिन लागेको स्पष्ट पारे ।

‘विश्वका धेरै सहरमा मेयरले कुनै राजनीतिक आवद्धता नजनाई राम्रो गरेकाले यो लहर नेपालमा पनि आइसकेको छ,’ कोइरालाले भने,’अब पनि देश विकासको पद्दतिमा परिवर्तन भएन भने हामी ठुलो दलदलमा फस्नेछौ, नेपाल अहिलेको श्रीलंकाको अवस्थामा नपुग्ला भन्न सकिन्न।’

नगरपालिकाका सम्पूर्ण प्रशासनिक कार्यलाई डिजिटल बनाएर नागरिक सुविधामा प्रभावकारीता स्थापना गर्ने समेत बताए । उनले भने,‘हाम्रो लडाई कुनै राजनीतिक दलसँग होइन् प्रणालीको लागि हो । युवाहरुलाई रोजगारी दिन पर्यो । अरु कुरा चाहिएको होइन् ।’

नगरपालिकाका धार्मिक, पर्यटकीय, सांस्कृतिक, सामुदायिक र प्राकृतिक सम्पदाको सूचीकरण गरेर संरक्षण तथा प्रवर्दनका कार्यक्रम संचालन गरिने पनि आफ्नो चुनावी घोषणापत्रमा समेटिएको कोइरालाले स्पष्ट पारे । नगरपालिकामा बसोबास गर्ने जातिय, धार्मिक एवं सांस्कृतिक विविधतालाई समेटेर सुलभ शिक्षा, स्वास्थ्य र मनोरन्जनका विभिन्न समावेशी कार्यक्रम संचालन गर्ने पनि आफ्नो योजना रहेको सुनाए ।

उनले आफु नगरपालिकाको प्रमुखमा निर्वाचित भएमा नगरपालिकामा प्राविधिक शिक्षा र व्यवसायिक तालिम केन्द्रको स्थापनामा जोड दिने स्पष्ट पारे । उनले बेरोजगार युवाहरुलाई तालिम दिने, स्थानीय उद्यमशीलता र रोजगारीको प्रवर्दन गर्ने पनि प्रतिवद्धता समेत व्यक्त गरे । नागरिकहरुको प्रत्यक्ष सहभागिता हुनेगरी पाक्षिक ‘सार्वजनिक–सुनुवाई’ कार्यक्रम संचालन गर्ने पनि उनले उद्घोष गरे । घर–दैलो कार्यक्रम गर्ने र नागरिकको गुनासोलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम निर्माण गर्नूपर्नेमा उनले जोड दिए ।

नेपाल युवा परिषदका अध्यक्ष सरोज बानियाँले अहिले सम्मका सबै राजनीतिक दलका नेताहरु आफु र आफ्नो परिवारको बारेमा मात्र सोच्ने गरेको आरोप लगाए । नागार्जुन नगरपालिकाका मतदाताले नगर विकासको लागि स्वतन्त्र उम्मेदवार राजन कोइरालाई मत दिनपर्नेमा उनले जोड दिए । उनले भने,‘यो नगर विकासको लागि सुनौलो अवसर हो । अमेरिका बसेर पनि नेपालको विकास गर्न आउनुभएको कोइरालालाई मत नदिए नगरबासी पछुताउन पर्नेछ ।’

कोइरालालाई मत दिएर जिताउन सम्पुर्ण नगरबासीलाई बानियाँले आग्रह गरे । कोइरालालाई भोट नदिएमा नगरवासीहरुले राम्रो मान्छे गुमाउने पनि उनले जिकिर गरे । स्वतन्त्र उम्मेदवारलाई जिताएमा खामबन्दीको अन्त्य हुने पनि उनले जिकिर गरे । कोइराला निर्वाचित भएमा ५ वर्षको अवधिमा नगरमा आजसम्म नभएको विकास हुने उनले उल्लेख गरे । कुने दलको नभई समग्र नागर्जुनको परिवार भएर काम गर्न स्वतन्त्र उम्मेदारी कोइरालाले दिन लागेको बानियाँले स्पष्ट पारे ।

२०४२ सालमा केवलपुर, धादिङ्गमा जन्मेका कोइरालाले विगत एक दशकदेखि युवा शशक्तिकरण, शिक्षा, रोजगारी र परामर्श क्षेत्रमा काम गर्दै आएका छन्। २०४७ मा आफ्नो परिवारसँगै काठमान्डौ बसाईं सरेका कोइरालाले पिपल्स क्याम्पसबाट पत्रकारिता र राजनीतीशास्त्रमा आइएको स्वर्णपदक पाएलगतै उच्चशिक्षाको लागि अमेरिका गएका थिए। अमेरिकास्थित टेक्सास राज्यको दुई उत्कृष्ट विश्वविद्यालयबाट पत्रकारितामै स्नातक र स्नातकोत्तर डिग्री हासिल गरेर ९ वर्षपछि २०६९ मा स्थाई रुपमा नेपाल फर्केका हुन्।

अहिलेसम्म ५० हजार बढी युवाहरुलाई तालिम दिइसकेका कोइराला विभिन्न युवाहरुले संचालन गरेका एक दर्जन संस्थामा सल्लाहकार, मेण्टर, अतिथी प्रशिक्षकका साथ–साथै अन्य स्वयंसेवी भूमिकामा छन्। सयौ प्रतिस्पर्धात्मक कार्यक्रममा कतै निर्णायक त कतै सहजकर्ता भएका उनले नेपालमा अनवरत युवाको क्षेत्रमा काम गर्दै आएका छन् ।

स्थानीय तहमा युवाको प्रत्यक्ष संलग्नता गराएर विकास र समृद्धिका लागि काम गर्ने लक्ष्यका साथ कोइरालाले सडक–निर्माण तथा स्तरोन्नति, खानेपानी, ढल–व्यवस्थापन, नगरपालिकाको उचित संरक्षण र प्रवर्दन, प्राथमिकतामा राखेर बालबालिका तथा अपांग र जेष्ठ नागरिक कार्यक्रमका साथै शिक्षा, स्वास्थ्य र रोजगारी तथा उद्यमशीलता काम गर्ने बताएका छन् ।

कोइरालाले आफ्नो चुनावी घोषणापत्र पनि सार्वजनिक गरेका छन् जुन यसप्रकार छः

१. नगरपालिकामा स्थानीय विकास (सडक–निर्माण तथा स्तरोन्नति, खानेपानी, ढल–व्यस्थापन लगायत) का कार्यक्रम तिव्रगतीमा बढाइने।
२. फोहोर–मैला व्यवथापनमा नयाँ प्रविधिको विकास गरेर नगरपालिकालाई स्वच्छ र हराभरा राखिने।
३. नगरपालिकाका हरेक घरलाई याड्रेस लोकेटर प्रणालीमा राखेर हुलाकी माध्यमको विकास गर्ने र स्थानीय सरकारसँगको सुचना–प्रवाहमा सहजताको माहोल शृजना गर्ने।
४. नगरपालिकाका सम्पूर्ण प्रशासनिक कार्यलाई डिजिटल बनाएर नागरिक सुविधामा प्रभावकारीता स्थापना गरिने।
५. नगरपालिकाका धार्मिक, पर्यटकीय, सांस्कृतिक, सामुदायिक र प्राकृतिक सम्पदाको सूचीकरण गरेर संरक्षण तथा प्रवर्दनका कार्यक्रम संचालन गरिने।
६. नगरपालिकामा बसोबास गर्ने जातिय, धार्मिक एवं सांस्कृतिक विविधतालाई समेटेर बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकहरुको लागि सुलभ शिक्षा, स्वास्थ्य र मनोरन्जनका विभिन्न समावेशी कार्यक्रम (बीमा, छात्रवृति, सामुदायिक भवन, पुस्तकालय, पार्क) संचालन गरिने।
७. नगरपालिकामा कम्तीमा एउटा प्राविधिक शिक्षा र व्यवसायिक तालिम केन्द्रको स्थापनामा जोड दिएर बेरोजगार युवाहरुलाई तालिम दिने, स्थानीय उद्यमशीलता र रोजगारीको प्रवर्दन गरिने।
८. नागरिकहरुको प्रत्यक्ष सहभागीता हुनेगरी पाक्षिक ’सार्वजनिक–सुनुवाई’ कार्यक्रम संचलान गर्ने, घर–दैलो कार्यक्रम गर्ने र नागरिकको गुनासोलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम निर्माण गरिने।

 

 

http://www.adbl.gov.np


प्रतिक्रिया दिनुहोस्