विश्व हिन्दू यूवा अन्तर्राष्ट्रिय समितिले भोलि रामनवमीको अवसरमा ४६औं विश्व हिन्दु एकता दिवस मनाउने


काठमाडौं, २६ चैत । विश्व हिन्दू यूवा अन्तर्राष्ट्रिय समितिले भोलि आइतबार (चैत २७) गते विशेष चाड रामनवमीको अवसर पारेर ४६औं विश्व हिन्दु एकता दिवस मनाउने भएको छ ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले यसबारे जानकारी दिएको हो । समितिले भोलिको कार्यक्रममा सहभागी हुन पनि अपिल गरेको छ ।

भोलि चैत २७ गते काठमाडौंको बत्तिसपुतलीस्थित् राम मन्दिरबाट प्रारम्भ हुने र्याली भुवनेश्वर पशुपतिनाथमा गएर सभामा परिणत हुने समितिले जनाउको छ । र्यालीमा नेपाली सेनाको विशेष व्याण्डको टोली रहने जनाईएको छ । साथै, नेपाली सेनाको बग्गी, सशस्त्र प्रहरी टोली लगायतका सुरक्षा निकायको सहभागिता रहने जनाइएको छ ।

कार्यक्रममा विश्व हिन्दु महासंघ बासँबारी, विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिका अध्यक्ष डा.रामचन्द्र अधिकारी, नेपाल विश्व हिन्दू महासंघ, हिन्दु जागरण नेपाल, नेपाल सन्त समाज लगायत थुप्रै धार्मीक संस्थाको सहभागिता रहने छ ।

कार्यक्रममा बोल्दै विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले ४६औं विश्व हिन्दु एकता दिवस विशेष उत्साहको रुपमा मनाइने भन्दै कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।

उनले धर्म नमान्नेहरुलाई आउने निर्वाचनमा बहिस्कार गर्ने पनि चेतावनी दिए । साथै, उनले ९३ प्रतिशतभन्दा बढि नेपालमा ॐकार परिवार रहेको उल्लेख गरे तर व्यबहारमा भने देखिन नसकेको भन्दै अब धर्मको लागि उठ्ने समय आएको बताए ।

उनले विश्व हिन्दु महासंघ २०३७ साल चैत २७ गते रामनवमीको अवसरमा विरगञ्जको पिपरामा स्वर्गीय राजा वीरेन्द्र शाहबाट उद्घाटन गरेकोसमेत स्मरण गराएका थिए ।

उक्त अवसरमा पारेर सनातन धर्म र संकृतिबारे योगदान दिएका संचारकर्मीका साथै नेपाल संस्कृत विश्वविद्यालयमा प्रथम भएकी विदुषीलाई सम्मान गरिने पनि उनले जानकारी दिए ।

नेपालमा धर्मनिरपेक्षता चोर बाटोबाट ल्याइएको उनको आरोप छ । उनले भने,‘यसलाई फाल्न सम्पूर्ण नेपाली जनताको साथ चाहिएको छ ।’ यस्तै, उक्त धार्मिक सभालाई विभिन्न देशका विशिष्ट विद्धावनहरुले सम्बोधन गर्ने बताए ।

विश्व हिन्दु महासंघ नेपालका उपाध्यक्ष प्रविन घिमिरेले विशाल शोभा यात्रामा सहभागी हुन सबैमा आग्रह गरे । ९३ प्रतिशतभन्दा बढि हिन्दुहरु भएको देशमा सनातनीहरुनै अल्पमतमा परेकोजस्तो अवस्था देखिएको भन्दै उनले यो हिन्दुहरुको लागि लज्जाको विषय भएको उनको टिप्पणी छ । यस्तै, उनले आगामी दिनमा हिन्दु धर्मसँग सम्बन्धित् सबै संघ तथा संस्था एकतावद्ध हुनुपर्ने धारण राखे ।

अनन्त विभुषित सनातन धर्म शिरोमणी स्वामी राम बाबाले रामनवमीको अवसरमा धार्मिका कार्यक्रम आयोजना गर्न लागेको भन्दै विश्व हिन्दू यूवा अन्तर्राष्ट्रिय समितिलाई धन्यवाद दिँदै कार्यक्रम सफलताको शुभकामना पनि दिए । उनले उक्त धार्मिक कार्यक्रममा सहभागी हुन सबैमा आग्रह गरे ।

वैदिक सनातन धर्ममा केही समस्या देखिएको भन्दै उक्त समस्यालाई हटाउन आवश्यक कदम चाल्नुपर्ने बेला आएको पनि उनको भनाई छ । साथै, भगवानप्रति आस्था राख्नुपर्ने भन्दै उनले भगवानको लागि ज्यान दिन सक्नुपर्ने बताए ।

कार्यक्रमको सञ्चालन विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका महासचिव नरेशमान सिंहले गरेका थिए ।