Logo

माओवादी केन्द्रका नेता दीपक जंगमसहितका युवाहरु नेकपा माओवादी समाजवादीमा प्रवेश



काठमाडौं, २६ चैत । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता दिपक जङ्गमसहितका युवाहरु माओवादी केन्द्र परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले जङ्गम सहितका युवा नेताहरुलाई पार्टीमा स्वागत गरेका हो ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशिल’ले नवप्रवेशीहरुलाई खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । उनले पार्टी प्रवेश गरेकाहरुलाई स्वागत गर्दै उनीहरुले पार्टीलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।

यस्तै, उनले अबको स्थानीय तहको निर्वाचनपछि र संसद्को निर्वाचन अगाडी यो देशको राजनीतिमा ठूलो फेरबदल ल्याउने दाबी पनि गरे । ‘आउँदै गरेको संसदीय चुनावलाई ध्वस्त पार्नको लागि र त्योभन्दा अगाडि क्रान्तिकारी विकल्प दिनको लागि राष्ट्रिय राजनीति जनप्रारम्भ सम्मेलनको आधार खडा गर्नेछौं,’ उनले भने ।

उनले अहिलेको अवस्थामा नेपाल श्रीलंकाको बाटोमा गएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा इतिहासकै असक्षम प्रधानमन्त्री भएको आरोप लगाए ।

साथै, उनले देश अहिले उकुुसमुकुसको अवस्थामा रहेको भन्दै राष्ट्रिय राजनीति जनप्रारम्भ सम्मेलनमार्फत नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीले देशलाई सही ठाउँमा पुर्याएर निकाश दिने विश्वस दिलाए ।

वैज्ञानिक समाजवाद स्थापित गर्न ठोस योजनाका साथ आफुहरु अघि बढिरहेको पनि बुढाथोकीले सुनाए । उनले स्थानीय तहको निर्वाचनमा आफुहरु जनताका बीचमा जान लागेको जनाए । अहिले जनता भ्रष्टाचारबाट आजित भइसकेको भन्दै जनतालाई सचेत बनाउन निर्वाचनमा जान लागेको उनको भनाई थियो ।

‘विजयी जो भएपनि हामीले विजयोत्सव मनाउनेछौं, किनभने हामी जनताको बीचमा पुगेका हुन्छौं ।  साथै, जनतासँग राम्रो सम्बन्ध बनाएर जतिबेला सिट्टी बज्छ त्यतिबेला उर्लीने आधार खडा गर्नेछौं’–उनले भने ।

कार्यक्रममा बोल्दै पार्टीका स्थायी कमिटी सदस्य योगेश रालफालीले माओवादी केन्द्रको पुरानो घर बिग्रिएपछि नयाँ घर निर्माण गर्न लागेको बताउँदै इमान्दार साथीहरुलाई स्वागत गर्न पाउँदा निकै खुसी महसुस भएको टिप्पणी गरे ।

‘हामी पुरानो घरमा लेउ पलाएपछि नयाँ घर निर्माणा लागेका हौं । तर, त्यहाँ भएका पराना ईट्टा, ढुङ्गाहरुलाई पनि नयाँ घरमा स्वागत गर्न लागेका छौं,’ उनले भने ।

साथै, उनले दश वर्षे जनयुद्ध र २०६२÷६३ को जनआन्दोलनलाई तिलाञ्जली दिँदै आफूहरुले नेता सम्झेकाहरुले नै धोका दिएपछि सहिदका सपना पूरा गर्न नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीलाई पुनस्थापना गरेका बताए ।

‘१० वर्ष जनयुद्ध र २०६२÷६३ को जनआन्दोलनको बाँकी कार्यभारलाई पुरा गर्नको लागि हामी आन्दोलनरत छौं । नेपालमा भएको महँगी र एमसीसीविरुद्ध हामी उभिएका छौ।’ उनले भने ।

नवप्रवेशी नेता अधिवक्ता दिपक शर्मा जङ्गमले माओवादी केन्द्रमा माक्र्स र लेलिनवादी सिद्धान्तभन्दा बढी व्यक्तिवाद परिपाटी हावी भएको आरोप लगाए ।

आफुले गरेको योगदानलाई पार्टीले कदर नगरेको भन्दै सहिदका बाँकी सपना पुरा गर्न नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीमा प्रवेश गरेको उनको भनाई थियो ।

उनले जनताको लागि अहिलेसम्म गणतन्त्र नआएको धारणा राखे । ‘आजको मितिबाट माओवादी केन्द्र त्याग गरेर खुला रुपमा यस पार्टीमा प्रवेश गरेको छु । आशा छ, यही पार्टीमा लागेर सहिदका सपना पुरा गर्न सकिनेछ,’ उनले भने ।

उनले माक्र्स र लेनिनवादी सिद्धान्तलाई उँचो बनाउन भूमिका खेल्नको लागि नै आफूहरु नेकपा माओवादी समाजवादीमा प्रवेश गरेको स्प्ष्ट पारे ।

उनले पैसावाला र भ्रष्टचारीको छत्रछायाँबाट पार्टीलाई हुर्काउन खोजे राम्रो नहुने बताए । माक्र्सवादी सिद्धान्तलाई आत्मसात गरेर जनताको सेवालाई अगाडि बढाएमात्रै जनताको मनमा बस्न सफल हुने पनि उनले सुनाए ।

अन्य पार्टीहरुले पैसा हुँदैमा चुनाव जित्न सकिन्छ भन्ने भ्रम पालेको भन्दै उनले त्यसलाई आफूहरुले चिर्ने र यो पार्टीलाई जनताको पार्टी बनाउनको लागि पहल गर्नुपर्ने बताए ।

जनताको भावनालाई आत्मसात नगरेर अगाडी बढ्न खोजे जतिवटा पार्टी खोलेपनि सफल हुन नसक्ने उनको भनाई छ। आफुलाई पार्टीमा स्वागत गरेकोमा धन्यवाद व्यक्त गर्दै पार्टीले दिएका जिम्मेवारी आफ्नो क्षेत्रबाट असल नियतका साथ ईमानदार भएर पुरा गर्ने पनि उनले प्रतिबद्धता जाहेर गरे।

साथै, उनले साना कम्यूनिष्ट पार्टीहरुलाई एकतावद्ध बनाएर संगठन विस्तारमा ध्यान दिन नेतृत्वलाई आग्रह गरे ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot