Logo

मतदातामा अनौठो मौनता छ, पैसावाल उम्मेदवारमात्र उत्साही छन्ः हृदयेश त्रिपाठी



काठमाडौं, २७ चैत । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले स्थानीय तहको निर्वाचन घोषणा भए पनि मतदातामा आश्चर्य लाग्दो मौनता रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता त्रिपाठीले भने, “मैले सातआठ पटक चुनाव लडेँ । तर मतदाताको मौनता देखेको थिइनँ । चुनाव भन्नेबित्तिकै ठूलो धनराशिको खर्च हुन्छ । राजनीतिमा तलदेखि माथिसम्म बिचौलिया छन् । चुनावले उम्मेदवारमा उत्साह छ, जनतामा छैन । यो शुभ संकेत होइन ।”
आफ्नो पार्टीको ठूलो आकांक्षा नभए पनि गेम चेन्जर हुन सक्ने उनले बताए । त्रिपाठीले थपे, “हामी फागुन ३ मा दर्ता भएको कान्छो पार्टी हौं । हामी एक्लै हिँडिरहेका छौं, भिडिरहेका छौं । अहिले नेकपा एमालेलाई हामी बलिया छौं भन्ने परेको होला । सत्तापक्षीय गठबन्धनले मूर्त रुप लिएपछि उसले पनि सोच्ला । हामीले त्यति ठूलो आकांक्षा राखेका छैनौं । तर गेम चेन्जरका रुपमा नतिजा परिवर्तन गर्न स्वतः भूमिका खेल्छ ।”
उनले गभर्नरको निलम्बन निन्दनीय अपराध भएको बताए । त्रिपाठीले भने, “आयातमा रहेको अराजकता र अनुशासनहीनतालाई लगाम लगाउने गभर्नरलाई निलम्बन गरेर सरकारले निन्दनीय अपराध गरेको छ । वित्तीय क्षेत्रमा गभर्नरले लिन खोजेको कदमका विरुद्धमा गएको छ । गलत नीतिलाई प्रोत्साहन गर्ने अभीष्ट सरकारको छ । यसको छानबिन कर्मकाण्ड मात्रै हुन्छ । यसको मूल्य मुलुकले केही दिनमा भोग्ने नै छ । यसले अर्थतन्त्रमा समस्या सुधार होइन, विकराल विकृति ल्याउँछ । यसमा नीतिभन्दा नियत खराब देखिन्छ ।”
राज्य नै तस्करीको संरक्षक भएको आरोप पनि उनले लगाए । त्रिपाठीले भने, “अहिले विकास खर्च गर्न सक्ने अवस्था छैन । ठेक्कावालाले पैसा पाएका छैनन् । राज्यकोषको अवस्था दयनीय छ । नेपाल आयल निगम अप्ठ्यारोमा छ । केराउ, सुपारी, मरिच तस्करीलाई राज्यको प्रोत्साहन छ । महँगा गाडी, मदिरा आइरहेका छन् । तस्करीका लागि डेढ करोड जनसंख्या भएका बेला ३ करोड छाता मगाएका थिए ।”



प्रतिक्रिया दिनुहोस्