Logo

शिर्ष नेतालाई परिवार र आफ्नै भेगको मात्र चिन्ता



काठमाडौं, २७ चैत्र । माधव नेपाल नेकपा एमालेका महासचिव हुँदा आफ्ना भाइलाई महत्वपूर्ण नियुक्ति दिलाएका थिए । कम्युनिस्ट पार्टीमा परिवारवाद छिर्यो भनी आलोचना भएपछि माधव नेपालले जवाफ दिएका थिए, ‘म परिवारमा झगडा गराउन चाहन्नँ ।’ उनको आशय थियो परिवारका सदस्यलाई रिझाउन नसके झगडा पर्छ ।

उनै माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरी सरकारमा गएपछि आफ्ना परिवारका सदस्य र नातेदारहरुलाई नियुक्तिहरुमा प्राथमिकतामा राखेका छन् । नेपालका भाई अनिलकुमार उपाध्याय कृषि विकास बैंकका सिइओ छन् । बहिनी ज्वाई कैलाश पोखरेल राजदूत नियुक्त भए । भाई सरोजकुमार उपाध्याय नेकपा एसका केन्द्रीय सदस्य छन् । सम्धी सोमप्रसाद पाण्डेका साँढुभाई गोविन्द बन्दी कानून मन्त्री नियुक्त भए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवारलाई पद र नियुक्तिहरुमा लाने क्रम बढाएका छन् । उनकी छोरी रेनु दाहाल भरतपुर महानगरपालिकाकी मेयर छिन् । रेनुलाई पुनः मेयर बनाउन प्रचण्ड सक्रिय भइसकेका छन् । छोरी गंगा दाहाल सचिवालयमा छिन् । उनका भाई नारायण दाहाल माओवादीका केन्द्रीय सदस्य छन् । ज्वाईं पनि महत्वपूर्ण पदमा छन् ।

नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा काँग्रेस केन्द्रीय सदस्य छिन् । उनको सरकारका सञ्चालनमा निकै महत्वपूर्ण भूमिकाहरु देखिन थालेको छ । देउवाले आरजुलाई भावी नेतृत्वका लागि स्थापित गर्न खोजेको चर्चा चल्न थालेको छ ।
देउवा सुदूरपश्चिम प्रदेश केन्द्रित कार्य गर्छन् । उनले हालै भएको एआइजी बढुवामा सुदूरपश्चिमका तीनैजनालाई बढुवामा पारे । विगतमा आइजीपी नियुक्ति गर्दा तेस्रो वरियताका भएपनि सुदूरपश्चिमका जयबहादुर चन्दलाई गर्न खोजेका थिए । कतिपय नियुक्तिहरुमा सुदूरपश्चिमकाले प्राथमिकता पाइरहेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका नातेदारले उनी प्रधानमन्त्री हुँदा महत्वपूर्ण नियुक्तिहरु पाएका थिए । कतिपय राजदूतहरु ओलीका ससुराली खलकतर्फका थिए । सरकारका महत्वपूर्ण नियुक्तिहरुमा पनि ससुराली खलकतर्फकाले पाएका थिए ।

ओलीले सबैभन्दा बढी झापाकालाई नियुक्ति दिएका थिए । झापा उनको गृह क्षेत्र हो । झापाको गौरादह क्षेत्रकाले विशेष प्राथमिकता पाउने गरेको चर्चा नै चल्यो । राजदूत नियुक्ति देखि सरकारी निकायमा भएका कतिपय नियुक्तिमा झापा नै प्राथमिकतामा परेको थियो ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि विस्तारै आफ्ना छोरा अमरेन्द्र यादवलाई बढाउन खोजेका छन् । उनले भरसक विराटनगरको मेयरमा अमरेन्द्रलाई बढाउने नभए सांसद भएपनि बनाउने रणनीति बनाएको छ ।

जसपाका अर्का नेता डा. बाबुराम भट्टराई पनि छोरी मानुषी यमीलाई राजनीतिमा अगाडि बढाउने चिन्ता देखिएको छ । उनले यसपटकको चुनावमै मानुषीलाई अगाडि बढाउन सक्ने बुझिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि छोरीतर्फका परिवारका सदस्यलाई शक्तिमा ल्याएका थिए । उनले पनि नातेदार खोज्न छाडेनन् ।

नेपालको राजनीतिमा शक्तिमा पुगेकाहरु परिवार, नातेदार या आफ्नो क्षेत्रमा मात्र ध्यान दिने परिपाठी झन् हावी भएको छ । यसले नेताहरुप्रति आम जनताको दृष्टिकोण नकारात्मक हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot