Logo

आकांक्षी धेरै हुँदा उम्मेदवार चयन चुनौतीपूर्ण



पोखरा, चैत २७ । स्थानीय तहको निर्वाचन नजिकिँदै छ। राजनीतिक दलहरू उम्मेदवार छान्न व्यस्त छन्। आकांक्षी धेरै हुँदा उम्मेदवार चयनको विषय चुनौतीपूर्ण बनेको छ।

सामान्यतया वडादेखि नै माथिल्लो तहसम्म सहमति जुटे एकजना र सहमति जुट्न नसके सम्भावित तीन (एक महिला अनिवार्य) उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने भनिए पनि आकांक्षी बढी भएपछि १०–१२ जनासम्मको नाम पठाउनुपर्ने बाध्यता आएको दलका नेताहरूको भनाइ छ।

कांग्रेस कास्कीका सचिव भानु ढकालका अनुसार वडास्तरमा उम्मेदवार सकेसम्म सर्वसम्मत रूपमा तय गर्ने प्रयास भइरहेको छ। सर्वसम्मत हुन नसकेको अवस्थामा एक महिलासहित तीन जनाको नाम माथिल्लो निकायमा पठाउनुपर्ने हुन्छ।

कांग्रेसले उम्मेदवार चयन गर्ने क्रममा गाउँपालिकाबाट वडाका लागि आएका सम्भावित उम्मेदवारको नाम प्रदेशसभा क्षेत्रमा र प्रदेशसभा क्षेत्रले प्रतिनिधिसभा क्षेत्रमा पठाउँछ। क्षेत्रीय स्तरको बोर्डले बल्ल गाउँपालिकाका वडाध्यक्ष उम्मेदवारको टुंगो लगाउँछ।

त्यस्तै गाउँपालिका अध्यक्षको हकमा गाउँपालिकाले सर्वसम्मत उम्मेदवार चयनको प्रयास गर्छ। तर सर्वसम्मत नभए आएका सबै आकांक्षीको नाम प्रदेश र प्रतिनिधिसभा क्षेत्र हुँदै जिल्लासम्म आउँछ। गाउँपालिकाका उम्मेदवारको अन्तिम निर्णय जिल्ला बोर्डले गर्छ। महानगरस्तरमा पनि त्यहीको समितिले सर्वसम्मतको प्रयास गर्ने र नभए जिल्ला हुँदै केन्द्रले निर्णय गर्ने ढकालले बताए।

केन्द्रीय संसदीय बोर्डले महानगरका आकांक्षी टुंगो लगाउने उनले बताए। ‘आकांक्षी धेरै छन्। सकेसम्म एकजना सर्वसम्मत गर्नू नत्र तीन जनाको नाम मात्र पठाउनू भने पनि रोक्न सकिएन, आएजतिका नाम पठाइएको छ,’ ढकालले भने, ‘खासमा बढीमा तीन जनाको नाम मात्र आउनुपर्नेमा १०–१२ जनासम्म आकांक्षी देखिएका छन्।’

आकांक्षी धेरै हुँदा उम्मेदवार चयनमा सकस भए पनि त्यो नराम्रो भने नरहेको उनले बताए। ‘पार्टीमा योगदान गरेका व्यक्ति नै उम्मेदवार हुन खोज्ने भएकाले धेरै आकांक्षी हुनु नराम्रो होइन,’ उनले भने। कांग्रेसमा अहिले पोखरा महानगरमा व्यवसायीदेखि दलकै पुराना नेताहरू मेयरको आकांक्षीका रूपमा देखिएका छन्। केही आकांक्षीले आफू मेयरको दाबेदार भन्दै भेटघाट सुरु गरेका छन्।

एमालेमा पनि वडास्तरसम्म उम्मेदवारका आकांक्षी थुप्रै छन्। एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङले भने, ‘हामीले पनि सकेसम्म एक जनाको नाम टुंगो लगाउने हो, नभए तीनजनाको नाम सिफारिस गर्ने हो। उनीहरूमध्येबाट एक जना छानिने हो। स्थानीय तहअनुसार उम्मेदवार छनोट हुनेछ।’ नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot