पोखरा, २७ चैत्र । कास्कीको सराङ्कोट १८ पदेली पोखरा स्थित वागेश्वरी दुर्गादेवी मन्दिर परिसरको उत्तरी भेगमा अवस्थित करिब सय वर्ष पुरानो इतिहास बोकेको सप्तसमाधीको संरक्षणमा स्थानीयहरु जुटेका छन् ।
सप्तसमाधीको संरक्षणको लागी स्थानीयवासी र सप्तऋषि निर्माण संरक्षण समितिको चैत २६ गते बसेको बैठकले ७ वटा शिवलिङ्ग सहित सप्तऋषिको मुर्ति निर्माण र आर्थिक संकलन कार्य अगाडि बढाउन समिति बाट निर्णय गरेको थियो ।
स्थानीय बासीका अनुसार उक्त ठाउँमा योगिको कुटि थियो । अन्दाजी सय वर्ष अगाडि त्यस ठाउँमा योगिहरुको बसोबास रहेको र उनीहरुले आफ्नो मृत्युको पुर्व जानकारी गराइसकेका थिए भन्ने विश्वास छ ।

तत्पश्चात उनीहरुको चट्याङले मृत्यु भइसकेपछि त्यस क्षेत्रमा समाधीस्थल निर्माण गरिएको थियो । कालान्तरमा संरक्षण नभएकोले गर्दा धार्मिक आस्था बोकेको त्यस क्षेत्रको अस्तित्व ओझेलमा पर्दै आएको थियो । समाधीस्थलमा एउटा समाधी निर्माण गर्नको लागी सप्तऋषि निर्माण संरक्षण समितिका अध्यक्ष एकबहादुर ढकालले भक्तपुरे कलात्मक इट्टाको प्रयोग गरि विशेष कारीगर बाबुकाजी गोसाइँलाई ठेक्कामा दिने र आर्थिक सहयोग गरि निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो । साथै बैठकले समाधी बनाउनको लागि सामुहिक आर्थिक संकलन जुटाउने कार्य थालनी गर्ने पनि निर्णय गरेको छ ।

अध्यक्ष एकबहादुर ढकालले पुरातात्त्विक महत्त्व बोकेका यस्ता धार्मिक तथा पर्यटकीय स्थललाई विकास र सम्बर्द्धन गर्न सकेमा हराउदै गएको मौलिकता जोगाउन सकिने तथा यस क्षेत्रमा ऋषि पञ्चमी र बालाचतुर्दशी मेलामा पर्यटक, तिर्थालु भक्तजनको लागी अति उपयुुक्त हुने कुरामा जोड दिए । गत चैत्र शुक्लपक्ष का दिन मन्दिरमा त्यहाँका स्थानीय पुजारी बाट विधिवत रूपमा मौलो र त्रिशुल को स्थापना गरिएको थियोे ।




प्रतिक्रिया