Logo

जसले कोरोनाकालमा काठमाडौं महानगरमा सरकारको समानन्तर सेवा चलाए



काठमाडौं, २७ चैत्र । जतिबेला विश्वव्यापी कोरोना महामारीको प्रभाव नेपालमा पनि तीव्र रुपमा परेको थियो । त्यो बेला एक हिसाबले कोरोना व्यवस्थापन सरकार गम्भीर रुपले चुकेको थियो । संक्रमितको उपचारदेखि व्यवस्थापनमा सरकारले गम्भीर लापरबाही ग¥यो ।

मान्छेले मान्छेसँग डराउनु पर्ने स्थिति थियो । त्यस्तो बेला एकजना व्यक्ति बिरामीको घर–घरमा औषधि लिएर पुग्ने गर्थे । ती व्यक्ति हुन् काठमाडौं महानगरपालिका वडा नम्बर १० नयाँ बानेश्वर निवासी दिपेन्द्र श्रेष्ठ । त्यहीँ क्षेत्रबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित सांसद दिपेन्द्र पहिलो लहरको कोरोना फैलिएको बेला आफ्नो क्षेत्रका घर–घरमा आवश्यक पर्ने औषधि लिएर जनताको सेवामा हाजिर भए ।

सरकारले घोषणा गरेको लकडाउनका कारण मान्छेहरू अलपत्र परे । हिँड्दै गरेका र अलपत्र परेका मान्छेहरुलाई उनले आफ्नै स्कुटरमा हालेर गन्तव्यसम्म पु¥याइदिए ।

लकडाउन खुलेपछि मेलम्ची खानेपानी व्यवस्थापन गर्न डोजर लिएर पाइपलाइन मिलाउन दिपेन्द्र आफ्नो काठमाडौंको बानेश्वर, बुद्धनगर, मिनभवनलगायतका टोल–टोलमा डोजर लिएर पुग्न थाले । त्यसैबीच नेपालसहित विश्वभरनै कोरोनाको दोस्रो महामारी सुरु भयो ।

कोरोनाको डेल्टा भेरिएन्टले ल्याएको दोस्रो लहरले नेपालको ‘हेल्थ सिस्टम’ नै अस्तव्यस्त बन्यो । अस्पतालहरुमा अक्सिजन अभावले बिरामी भर्ना गर्न नसक्ने अवस्था रह्यो । कोरोना संक्रमितले अक्सिजन र उपचार नपाएर ज्यान गुमाउन थाले । त्यो बेला फेरि दिपेन्द्र सक्रिय बने । उनले काठमाडौंको मुटु मानिने नयाँ बानेश्वरको रत्नराज्य स्कुलमा अक्सिजनसहितको कोरोना आइसोलेसन सेन्टर खोलिदिए ।
केन्द्रीय सरकार र काठमाडौं महानगपालिकाले गर्न नसकेको अक्सिजन व्यवस्थापन र आइसोलेसन सेवा सञ्चालकको काम दिपेन्द्रको सक्रियतामा सजिलै भयो । साच्चै भन्नु पर्दा दिपेन्द्रले कोरोनाकालमा काठमाडौं महानगरमा सरकारको समानन्तर सेवा चलाए ।

देशभर अक्सिजनको हाहाकार हुँदा रत्नराज्य आइसोलेसनबाट घर–घरमा अक्सिज उपलब्ध गराएको उनी सम्झन्छन् । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले त्यो बेला दिपेन्द्रले गरेको हरेक काममा अवरोध गरे । तर उनले कोरोनाकलमा काठमाडौं महानारपालिकालाई चुनौती दिँदै जनतालाई सरकारको समानान्तर सेवा उपलब्ध गराए ।

रत्नराज्यको फ्रि कोरोना आइसोलेसनमा संक्रमितको आकर्षण बढेपछि दिपेन्द्रकै सक्रियतामा बुद्धनगरको मेरो हस्पिटलमा सुशील कोइराला आइसोलेसन सेन्टर खोलेर उनले स्थानीयलाई मनोबल बढाउने काम गरे । रत्नराज्य र बुद्धनगरमा कोरोना आइसोलेसन खोलेपछि संक्रमितमा ठूलो राहत मात्र भएन कोरोना भइ हाले आइसोलेसन छँदै छ भन्ने ठूलो आड भरोसा समेत भयो ।

सिभिल अस्पताललाई डेढ करोडको स्वास्थ्य सामग्री
बागमती प्रदेश सांसद दिपेन्द्रले पहलमा कोरोनामा अक्सिजन अभाव भएको बेला काठमाडौंको मुटु नयाँ बानेश्वरमा रहेको सिभिल अस्पतालले अक्सिजनसहित डेढ करोड बढीको मेडिकल सामाग्री पायो । च्वाइस ह्युमनिटेरियनका प्रतिक शर्मासँगको सहकार्यका उनले डेढ करोड बढीको अक्सिजन, भेन्टिलेटर लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री सिभिल अस्पताललाई हस्तान्तरण गरेका हुन् । जबकी बागमती प्रदेश सरकारले जम्मा दुुई करोड रुपैयाँ मात्र सिभिल अस्पताललाई दिन सकेको थियो । जुझारू र काठमाडौंका आशा लाग्दा युवा नेता दिपेन्द्रले त्यो बेला बागमती प्रदेश सरकारलाई पनि चुनैती दिँदै डेढ करोड बढीको स्वास्थ्य सामग्री सिभिल अस्पताललाई हस्तान्तरण गर्न सफल भए ।

भूमाफियादेखि पुतलीसडकको ढल समेत सफाया
कोरोनाकालमै दिपेन्द्रले भूमाफिया दिपक मल्होत्रादेखि पुतली सडकमा रहेको छरपस्ट आचीको ढल व्यवस्थापनमा समेत सक्रियता देखाए । काठमाडौं महानगरपालिका वडा नम्बर ११ बबरमहलस्थित किङस कलेजसँग जोडिएको ३ रोपनी सरकारी जग्गा व्यपारी दिपक मल्होत्राले हडपेका थिए । मासिक लाखौं भाडा खाने गरी मल्होत्राले हडपेको त्यो जग्गामा काठमाडौं महानगरपालिकाले नै कम्पाउण्ड लगाइदिएको जानकारी दिएपछि दिपेन्द्रले डोजर लगाएर सार्वजनिक स्वामित्वमा ल्याए ।ओलम्पिया स्कुललाई भाडामा लगाएर सार्वजनिक जग्गा खाने मल्होत्राको ठगी धन्दा दिपेन्द्रले पर्दाफास गरिदिए । मल्होत्राले हडपेको जग्गासँगै पूर्व उपसचिव सुरज डोटेलले पनि १ रोपनी ८ आना सरकारी जग्गा हडपेका थिए । स्थानीयले खबर गरेपछि त्यो जग्गामा पनि दिपेन्द्रले डोजर लगाएर सार्वजनिक स्वामित्वमा ल्याए ।

बुद्धनगरकै भूमाफिया जेएन तुण्डुकार लगायतले हडपेको २ रोपनी जग्गा मकै भाँचेर सार्वजनिक स्वामित्वमा ल्याउन उनी सफल भएका छन् । आफ्नै खर्चमा मुद्दा लडेर भूमाफियाबाट सरकारको स्वामित्वमा ल्याउन भूमिका खेलेका दिपेन्द्रले बागमती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री बनेलगत्तै पुर्जा समेत बनाउन सफल भएका छन् । त्यो ठाउँमा उनले पार्क बनाउन खोजेपनि काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले अवरोध खडा गरेर दिपेन्द्रले पार्क बनाउन हालेको २० लाख रुपैयाँ फ्रिज गराइदिएका छन् ।अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुल (आपिएस)ले हडपेको १ रोपनी बढी सार्वजनिक जग्गादेखि देवीनगरका भूमाफिया इन्द्र कुमार चाम्लिङले हडपेको सार्वजनिक जग्गा फिर्ता ल्याउन उनी निरन्तर लागिपरेका छन् । थापाथलीस्थित नर्भिक अस्पतालले हडपेको डेढ रोपनी सार्वजनिक जग्गा फिर्ता ल्याउने विषयमा पनि दिपेन्द्रले विशेष चासो दिएका छन् ।

प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश जस्ता व्यक्ति ओहोर–दोहोर गर्ने पुतलीसडकको ट्वाइलेटको ढल व्यवस्थापन गर्न भूमिका खेलेका दिपेन्द्र प्रदेशको पर्यटनमन्त्री भएपनि आफ्नो क्षेत्रमा पर्ने सिंहदरबारको ढल व्यवस्थापनमा सक्रिय छन् । निरन्तर डेलिगेसन गएर पुतलीसडकको ढल व्यवस्थापन गर्न सफल दिपेन्द्र अहिले संघीय खानेपानीमन्त्री उमाकान्त चौधरीलाई भेटेर सिंहदरबार न्यू प्लाजा र बबरमहलको ढल व्यवस्थापन गर्न ताकेता गरिरहेका छन् ।

पर्यटनमन्त्री दिपेन्द्र बाटो, विजुली, ढल खानेपानी औषधिउपचार लगायत काठमाडौंका जनताको हरेक सेवामा अहिले पनि उत्तिकै सक्रिय देखिन्छन् । सार्वजनिक जग्गा संरक्षणमा काठमाडौंका तत्कालीन मेयर केशव स्थापित समेत उनले माथ खुवाइदिएका छन् । काठमाडौंमा दिपेन्द्र जति जनसरोकारका विषयमा सक्रिय हुने कांग्रेसका नेताहरु निकै कम रहेको चर्चा हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्