Logo

खान बस्न सुनचाँदीका गरगहना बेच्न थाले श्रीलंकाली



एजेन्सी, २७ चैत्र । चरम आर्थिक संकटमा परेको श्रीलंकामा सर्वसाधारणलाई खान र बस्न नै धौ धौ पर्न थालेको छ । उनीहरु घरभाडा तिर्न र खानका लागि सुनचाँदीका गरगहना बेच्न थालेका छन् ।

समाचार एजेन्सी एएनआईले कोलम्बोको सुन पसलहरुमा पुगेर तयार गरेको रिपार्टमा दैनिक उपभोग्य सामाग्री खरिदका लागि सर्वसाधारण सुन चाँदीका गरगहना बेच्न वाध्य भएको उल्लेख छ । यसअघि कहिल्यै नदेखिएका दृश्यहरु श्रीलंकामा देखिन थालेको छ ।

श्रीलंकाको मुद्रा निकै कमजोर भएको छ । सन् १९४८ मा स्वतन्त्र भएपछि श्रीलंका पहिलोपटक ठूलो आर्थिक संकटमा फसेको छ । एक अमेरिकी डलर बराबर श्रीलंकाको रुपियाँ ३१५ पुगेको छ । २४ क्यारट सुनको मूल्य १ लाख ९५ हजार श्रीलंकाली रुपियाँ पुगेको छ ।

श्रीलंकामा डलरलगायत विदेशी मुद्राको अभाव देखिएको छ । श्रीलंका इन्धन खरिद गर्न नसक्ने हालतमा पुगेपछि पेट्रोल र ग्याँसको अभाव खड्किएको छ । पूर्वाधार विकासका लागि श्रीलंकाले अरबौं डलरको ऋण चीनसँग लिएको छ । यो ऋण उसका लागि सबैभन्दा भारी बनेको छ । ऋणको जालोमा देशलाई पारेको भन्दै सत्तारुढ राजापाक्षे परिवारको राजीनामा मागिएको छ ।



प्रतिक्रिया दिनुहोस्