तम्घास, २८ चैत्र । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीका राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न व्यस्त छन् । पालिकाका अध्यक्ष एवं प्रमुख, उपाध्यक्ष एवं उपप्रमुख, वडाध्यक्ष र वडासदस्य टुङ्गाउन दलहरु व्यस्त भएका हुन् ।
जिल्लामा १० गाउँपालिका र दुई नगरपालिका गरी १२ पालिका छन् । हालसम्म कांग्रेस, एमाले र माओवादी केन्द्रले छ पालिकामा अध्यक्ष एवं प्रमुखको उम्मेदवार छनोट गरेका छन् । कुनै पनि पालिकामा कुनै पनि पार्टीले उपाध्यक्षको उम्मेदवार भने छनोट गरेका छैनन् ।
जिल्लामा सबैभन्दा पहिले नेकपा (माओवादी केन्द्र)ले चन्द्रकोट गाउँपालिकामा अध्यक्षको उम्मेदवार छनोट गरेको थियो । पार्टीले प्रदेश कमिटी सदस्य युवराज केसीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । गठबन्धनबाट पालिका उपाध्यक्षमा कांग्रेसको उम्मेदवार हुने भनिए पनि कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छैन ।
धुर्कोट गाउँपालिकामा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष भुपाल पोखरेललाई नै अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । पोखरेलको नेतृत्वमा भएको जनप्रिय कामले गर्दा उहाँलाई नै अध्यक्षको उम्मेदवार बनाइएको गाउँ कमिटी अध्यक्ष गोपाल कुँवरले जानकारी दिए। धुर्कोटमा अझैसम्म पनि गठबन्धनको टुङ्गो नलाग्दा माओवादीले अध्यक्षको उम्मेदवार घोषणा गरेको हो ।
मुसिकोट नगरपालिकामा नेकपा ९एमाले०ले जीवन खरेललाई नगरप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीभित्र योगदानका आधारमा सर्वसम्मत नगरप्रमुख पदको उम्मेदवार बनाइएको पार्टीका पालिका अध्यक्ष प्रकाश काफ्लेले बताए। मुसिकोटमै कांग्रेसका तर्फबाट हरिनारायण सापकोटालाई नगरप्रमुखको उम्मेदवार बनाइएको छ । सापकोटा पार्टीका पूर्वजिल्ला सचिव हुन् । कांग्रेसले आइतबार सर्वसम्मत उम्मेदवारको टुङ्गो लगाएको हो । माओवादी केन्द्रले भने नगरप्रमुखको उम्मेदवारको टुङ्गो लगाएको छैन । कालीगण्डकी गाउँपालिकामा एमालेले रामजी ढकाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । ढकाल हाल पार्टीको गाउँ कमिटी अध्यक्ष हुन् ।
जिल्लामा सबैभन्दा बढी एमालेले वडाध्यक्षका उम्मेदवार टुङ्गाएको छ । जिल्ला सचिव गणेश श्रीपालीका अनुसार हालसम्म २५ वडामा वडाध्यक्षको उम्मेदवारको टुङ्गो लगाइएको छ । एमालेले धुर्कोट गाउँपालिका–३ हाडहाडेमा विष्णुबहादुर श्रीस र वडा नं ६ रजस्थलमा कृष्ण नेपालीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । उनीहरु दुवै वडाध्यक्ष छन् । कांग्रेसले पनि हालसम्म १५ वडामा वडाध्यक्षका उम्मेदवार टुङ्गो लगाएको छ । मुसिकोट र रेसुङ्गा नगरपालिका, धुर्कोट लगायतका पालिकाका केही वडामा वडाध्यक्षको उम्मेदवारको छनोट गरिसकेको छ ।




प्रतिक्रिया