हलेसीका २० आमा समूहलाई एक लाखका दरले बीउ पुँजी


खोटाङ, २८ चैत्र । हलेसी तुवाचुङ नगरपालिकाले नगरभित्र सक्रिय २० आमा समूहलाई बीउ पुँजी रकम प्रदान गरेको छ । नियमित बचत गर्दै आएका आमा समूहलाई आम्दानीमूलक क्षेत्रमा लगानी गर्न लगाउने र आयआर्जनमा टेवा पु¥याउने लक्ष्यका साथ आर्थिक वर्ष २०७८/७९ को बीउ पुँजी घुम्ती कोष कार्यक्रमअन्तर्गत आमा समूहलाई रु एक लाखका दरले बीउ पुँजी उपलब्ध गराइएको हो ।

स्थापनाकालदेखि हालसम्म जनही मासिक रु पाँचदेखि रु ५० का दरले बचत गर्दै आपसमा ऋण लगानी गरिरहेका आमा समूहको प्रोत्साहनका लागि फिर्ता गर्न नपर्नेगरी बीउ पुँजी रकम थप गरिदिएको नगरउपप्रमुख विमला राईले बताए ।

“एघार वडा रहेको नगरपालिकामा हाल १०५ आमा समूह छन्”, उनले भने, “नगरपालिकाबाट कुनै पनि सेवा तथा कार्यक्रम नपाएका, १५ जनाभन्दा बढी सङ्ख्याको महिला आबद्ध भएका र कम्तीमा पाँच वर्षसम्म निरन्तर क्रियाशील रहेको समूहलाई छनोट गरेर बीउ पुँजी रकम प्रदान गरिएको हो ।”

नगरपालिकाले गत वर्ष नियमित बचत गर्दै आएका १५ आमा समूहलाई बीउ पुँजी रकम प्रदान गरेको थियो । नगरपालिकाले उपलब्ध गराएको रु एक लाख रकम पनि आमा समूहको कोषमा मिसाएर बैंक बराबरको ब्याजदरमा समूहकै सदस्यलाई ऋण लगानी गर्ने व्यवस्था मिलाइएको छ ।

बीउ पुँजी लिएपछि बाख्रा, बङ्गुर, तरकारी खेतीलगायत व्यवसाय सञ्चालनका लागि समूहका विपन्न महिलालाई प्राथमिकतामा राखेर ऋण लगानी गर्नुपर्ने शर्त छ । समूहबाट ऋण लिने व्यक्तिले नौँदेखि १२ महिनाभित्र व्यवसाय सञ्चालन गरेर ऋण र ब्याज फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नगरपालिकाले बीउ पुँजीबापत रु एक लाख उपलब्ध गराएपछि आमा समूहमा आबद्ध महिला उत्साहित भएका छन् । सुख्खाग्रस्त क्षेत्रमा पर्ने उक्त नगरपालिकाले महिला लक्षित विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

महिलाको सुविधाका लागि विभिन्न टोलमा कुटानी÷पिसानी मिल, बाख्रा तथा सुँगुरका पाठा वितरणका साथै कपास खेती तथा ढाका उद्योगसमेत सञ्चालनमा ल्याइएको छ । ढिकी तथा जाँतोमा अन्न पिस्न समय लाग्ने र शारीरिक बलको खर्च हुने भएकाले मिल वितरण गरिएको जनाइएको छ ।

ढिकी तथा जाँतोमा अन्न पिस्दै आएका महिलालाई लक्षित गर्दै तीन आर्थिक वर्ष लगाएर प्रत्येक टोलमा धान, मकै, गहुँ, कोदो पिस्ने कुटानीपिसानी मिल वितरण गरिएको नगरप्रमुख इवन राईले बताए । एउटा विद्युतीय कुटानी÷पिसानी मिलले टोलका १५÷२० घरका बासिन्दा लाभान्वित भएका छन् ।