Logo

सुस्मिता हत्या प्रकरणः पेशी स्थगित नगर्न निवेदन



काठमाडौं, २८ चैत्र । हेटौंडामा १ असार २०७७ मा हत्या गरिएकी सुस्मिता थापा क्षेत्रीसम्बन्धी मुद्दा अझै जिल्ला अदालत मकवानपुरमा विचाराधीन छ । पटक पटक पेशी तोकिने र सर्ने गरेबाट पीडित पक्ष असन्तुष्ट बनेका हुन् ।

पीडित परिवारले पेशी पटक–पटक सारेर हैरान भएको भन्दै पेशी स्थगित नहुने व्यवस्था गर्न मकवानपुर जिल्ला अदालतमा निवेदन दर्ता गरेको सुस्मिताको ठुलो बुवा हेमबहादुर खड्काले जानकारी दिए ।

सबै पक्षबाट बहस नोट समेत पेश भई सकेको अवस्थामा प्रस्तुत मुद्दा पेशीमा नहट्ने व्यवस्था मिलाई उपयुक्त आदेश जारी गर्न परिवारले निवेदनमार्फत आग्रह गरेका छन् ।

सुस्मिता थापा क्षेत्रीका आफन्त  सुनुवाई हुने आशामा हेटौंडा पटक–पटक पुगे पनि आजसम्म मुद्दामाथि सुनुवाई हुन सकेको छैन् ।

मकवानपुरको सूर्यचोकमा हत्या गरिएकी २४ वर्षीया सुस्मिता थापा क्षेत्रीको हत्या अभियोगमा उनकै ससुरा, नन्दसहितको परिवारका सदस्य पक्राऊ परी र्पुपक्षका लागि थुनामा छन् । प्रहरीले सुस्मिता थापाको हत्याको कारणमा भौतिक आक्रमण देखि जर्बजस्ती करणी उद्दोग लुकाउने सम्मको कारण देखिएको खुलाएको थियो ।

सुस्मितामाथि ससुरा प्रकाश थापाले जर्बजस्ती करणी उद्दोग गरेको समेत खुलेको थियो । असार १ गते रक्सी पिएर ससुरा प्रकाश थापाले काठको लौरोले खान खाइरहेकी बुहारीलाई प्रहार गरेको र परिवारका अन्य सदस्यले समेत आक्रमण गरेको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेको थियो ।

हत्याको अभियोगमा सुस्मिताककी नन्द सीता थापा पनि र्पुपक्षका लागि थुनामा छिन् । घटनामा सासुले देखेको र उनलाई प्रकाश थापा र सीता थापाले कोठाबाट बाहिर निकालेको प्रहरीको निष्कर्ष थियो ।

सुस्मितालाई पटक पटक काठको लौरो र ढुंगाको लोहोरोले निर्ममता पूर्वक प्रहार गरी हत्या गरेको खुलेको थियो । १ असारमा हत्या गरी भोलिपल्ट विहान ५ बजे बुहारीले आत्महत्या गरी भनी छिमेकीलाई जानकारी गराएपश्चात प्रहरीलाई खबर गरेका थिए ।

कपिलवस्तुकी २४ वर्षीया सुस्मिता थापा क्षेत्रीको हेटौंडाका रुपेन्द्र थापाबीच १८ वैशाख २०७६ मा विवाह सम्पन्न भएको थियो । ससुरालीबाट फर्कने क्रममा २३ असोजमा नवलपरासीको दाउन्नेमा थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । त्यसपछि सुस्मितामाथि परिवारले चरम यातना दिने गरेको थियो । पैसाको विषयमा विवाद समेत भएपछि उनको हत्या भएको खुलेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot